काठमाडौँ, भदौ ५ गते । इजाजत नलिई पुनर्बिमा, बिमा कोष जस्ता शब्द प्रयोग गरी बिमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार नगराउन नेपाल बिमा प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै इजाजत नलिई बिमा प्रवृत्तिका व्यवसाय नगर्न र नगराउन सचेत गराएको छ । “बिमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजतपत्र नलिई कसैले पनि पुनर्बिमा, बिमा कोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन । साथै दफा १५३ अनुसार बिमकबाहेक अन्य कसैसँग बिमा व्यवसायसम्बन्धी कारोबार गर्न नहुने भनिएको छ,” प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
ऐनको उक्त व्यवस्थाको उल्लङ्घन हुने गरी कार्य भइरहेको भन्दै त्यो नगर्न प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । त्यस्तो गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने भन्दै सजग गराइएको छ ।
त्यसै गरी प्राधिकरणले इजाजत नदिएका फर्म, कम्पनीलगायतसँग कुनै पनि कारोबार नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।