• २४ पुस २०८१, बुधबार

वाणिज्य सङ्घद्वारा प्रधानमन्त्री प्रचण्डलाई १८ बुँदे मागपत्र

blog

ज्ञापनपत्र बुझाउदै उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलसहित पदाधिकारीहरु । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, भदौ ४ गते । कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ ।  कोरोनाकालदेखि बन्द गएका उत्तरी नाकाहरू अझै खुलेका छैनन् । 

निजी क्षेत्रले चीनसँग जोडिएका कर्णालीका मुगुको नाम्चे नाङ्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न गम्भीर पहल थाल्न आग्रह गरेको छ । सुर्खेत आएको अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घले विभिन्न १८ बुँदे मागपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ । 

उक्त मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत आदि लगायतका सबै आवश्यक पूर्वाधार एवं संरचना बनाउनुपर्ने माग गरिएको सङ्घले जनाएको छ । 

त्यस्तै, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यक्रम गर्नुका साथै यस प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने माग राखिएको छ । यस्तै सुर्खेतमा प्रादेशिकस्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग निजी क्षेत्रको छ । 

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन आवश्यक मसिन औजार उपकरणका लागि बजेटको माग गर्नुका साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै नलगाड लगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि मागपत्रमा उल्लेख छ ।