राममणि दाहाल
हेटौँडा, भदौ ४ गते । बागमती प्रदेश सरकारले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्नेगरी बनाइएको प्रदेश श्रम तथा रोजगार नीति २०८० को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आयोजना गरेको प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अब ऐन बनाएर श्रम तथा रोजगार नीतिलाई कार्यान्वयन गरिने बताउनुभयो ।
उहाँले नेपालमा कृषि नै प्रमुख रोजगारीको क्षेत्र भएको बताउँदै सीप सिकेकालाई वैदेशिक रोजगारीमा पठाउनु आवश्यक छ, उहाँले भन्नुभयो । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले संविधानको मर्मभित्र बसेर प्रदेशले श्रम नीति बनाएको बताउँदै सीपयुक्त नागरिक उत्पादनलाई नीतिले प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराईले प्रदेश श्रम तथा रोजगार नीति २०८० भएका व्यवस्थाबारेमा जानकारी गराउनुभयो ।
यस्तै, कार्यक्रममा सामी परियोजनाका पुरुषोत्तम अधिकारीले सामी परियोजनाका गतिविधिको चर्चा गर्नुभएको थियो । नीतिमा प्रदेशभित्र रोजगारीको अवसर सिर्जना गर्न प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम र सञ्चालन गर्ने उल्लेख छ ।