गोरखापत्र अनलाइन
काठमाडौं, भदौं ४ गते । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रदीप गिरी मुलुकको सर्वाधिक बौद्धिक व्यक्तित्व रहेको बताउनुभएको छ ।
स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक स्वर्गीय गिरीको प्रथम स्मृति दिवसमा सोमबार काठमाडौँमा आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरू विषयक’ अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
भुसालले भन्नुभयो, “मुलुकको सर्वाधिक बौद्धिक व्यक्तित्वमध्ये एक उहाँ हुनुहुन्थ्यो । ओठे तर्क, अन्तरवार्ता दिएर होइन, सिद्धान्त र इतिहासमा त्यो कमाण्ड, अथोरिटी भएको मान्छे हामीले गुमाएका हौँ ।”
उहाँले एसियामा मार्क्स बारेमा जान्ने औँलामा गनिने व्यक्ति मात्रै रहेको उल्लेख गर्दै नेपालमा मार्क्स जयन्तीको सन्दर्भमा गिरीसँगको अनुभव स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “मार्क्सको दुईसय जयन्ती मनाउँदैछौं भने पनि उहाँले आफैँ फोन गर्नुभयो । हाम्रो पार्टीमा कांग्रेस ल्याएर मार्क्स पढाउने भन्ने प्रश्न भयो । मैले के भनेको थिएँ भने मार्क्सका बारेमा जान्ने एसियामा प्रदीपजी जतिको कति जना मान्छे छौँ, सोचौँ ।”
उहाँले गिरीको प्रजातान्त्रिक समाजवादको व्याख्या निशर्त श्रमजीवी, किसान, मजदुर, जनजाति, दुर्गम क्षेत्रका व्यक्तिका निम्ति समर्पित भएको विचार राख्नुभयो । बोल्ने र गर्ने कुरामा अविभाजित असाध्य असाधारण व्यक्तित्वको रूपमा स्मरण गर्नुहुँदै उहाँले राजनीतिक दलका नेताले उहाँबाट धेरै कुरा सिक्नुपर्ने भनाइ राख्नुभयो ।