घोराही समाचारदाता
घोराही, भदौ ४ गते । तुलसीपुर उपमहानगरपालिका–११, कटाहका ललिता डाँगीलाई असार २४ गते सर्पले डस्यो। घरको काम गर्ने क्रममा करिब साँझ ६:४५ बजे गोमन सर्पले टोकेपछि उहाँलाई तत्काल अस्पताल लैजानुको साटो परिवारले विष चुसेर निकाल्ने भन्दै तुलसीपुर–१२ कै जसपुर पु-याए। त्यहाँ बिरामीको अवस्था जटिल बन्दै गएपछि एम्बुलेन्समार्फत सर्पदंश केन्द्र नेपालगन्ज लगियो।
त्यतिबेलासम्म करिब डेढ घण्टा बितिसकेको थियो। बिरामीलाई उपचारका लागि नेपालगन्ज लैजाँदा लैजाँदै बाटोमा डाँगीको मृत्यु भयो। गएको साउन ४ गते राति करिब १० बजेतिर शान्तिनगर गाउँपालिका–३ निवासी दलबहादुर घर्तीलाई घरबाहिर निस्कँदै गर्दा सर्पले डस्यो। सर्पले डसेपछि बिरामीलाई समयमै उपचार गर्न लग्नुपर्ने परिवारका सदस्य झारफुकमा लागे।
विष झार्ने नाममा सर्पले टोकेको ठाउँमा खुर्सानी दल्न पठाएको मृतक परिवारको भनाइ छ। बिरामीलाई राम्रो हुनुको साटो गाह्रो हुँदै गएपछि राति करिब १ बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइयो। अस्पतालसम्म ल्याउँदा समय धेरै बितिसकेकाले बिरामीको मृत्यु भइसकेको थियो। यसरी धेरैको ज्यान जाने गरेको छ। दाङमा सर्पले टोकेपछि उपचार गर्नेमा भन्दा पनि विष चुसेर निकाल्ने कुरामा बढी विश्वास गर्ने प्रचलन छ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमका अनुसार वैशाखदेखि साउनसम्म जिल्लामा सर्पदंशका कारण आठ जनाको मृत्यु भएको छ। आठ जनामध्ये साउनमा मात्रै सात जनाको मृत्यु भएको छ।
हरेक वर्ष गर्मी र वर्षामा जिल्लामा सर्पको टोकाइबाट मानिसको मृत्यु हुने गरेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका विज्ञ डा. उमाकान्त तिवारी समयमै अस्पताल पु-याए सर्पले डसेका बिरामीलाई बचाउन सकिने बताउनुहुन्छ तर झारफुकको भर परेर समयमै अस्पताल नपु-याउँदा बिरामीले अकालमै ज्यान गुमाउने गरेको बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “समयमै अस्पताल पु-याउने हो भने सर्पको टोकाइबाट कोही पनि मर्नु पर्दैन तर अस्पताल ल्याउन ढिलो गर्दा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ।” उहाँले कतिपय बिरामीलाई सर्पले टोक्नासाथ झारफुकमा लैजाने र अन्तिम अवस्थामा अस्पताल ल्याउँदा मृत्यु भएका घटना छन्। समान्यतया विषालु सर्पले टोकेको हकमा दुईदेखि तीन घण्टाभित्र अस्पताल पु-याए बिरामी बचाउन सकिने भए पनि विषालु सर्पले टोकेको खण्डमा आधादेखि एक घण्टाभित्र अस्पताल पु-याउनुपर्ने उहाँ बताउनुहुन्छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल र गढवामा सर्पदंश केन्द्रमा सर्पदंशको उपचार हुँदै आएको छ तर कपितय अवस्थामा बिरामीलाई जिल्लाबाहिर रिफर गर्दा पनि बिच बाटोमै ज्यान गुमाएका घटना छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्पदंश विज्ञसहित आइसियु, भेन्टिलेटरसहितको २४ घण्टे उपचार सेवा दिँदै आएको छ। त्यसबाहेक आवश्यक पर्ने ‘एन्टिस्नेक भेनम’ पनि पर्याप्त भएको प्रतिष्ठानले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रष्तिठानमा मात्र वैशाखयता २२ जना बिरामीले उपचार लिएका छन्।