• ५ जेठ २०८१, शनिबार

पर्यटन ऐन संशोधन आवश्यक

blog

काठमाडौँ, भदौ ४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधानका लागि पर्यटन ऐन संशोधन गर्न मन्त्रालय लागेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “वर्तमान पर्यटन क्षेत्रको समस्या समाधानका लागि पर्यटन ऐन परिवर्तन अहिलेको आवश्यकता हो । पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक विकास र आर्थिक उन्नति सम्भव रहेकाले पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ ।” 

स्रोतसाधनको अभावबिच पनि पर्यटक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्दै आएको जनाउँदै उहाँले नेपालको पर्यटन बजारलाई विश्व बजारमा पु-याउनका लागि पर्यटक प्रहरीको भूमिका सराहनीय रहेको बताउनुभयो ।

पर्यटकको सुरक्षा, उद्धार, खोज, उपचार तथा अनुगमनमा निष्ठावान् भएर मन, वचन र कर्मले काम गर्न निर्देशन दिँदै उहाँले नेपाल पर्यटकीय सम्भावना भएको मुलुक भएकाले भाषा, तालिम र प्रविधिमा पर्यटक प्रहरी अब्बल बन्नुपर्ने जनाउनुभयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल प्रहरीले युनाइटेड नेसन (युएन) मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्धन गरिरहेको उहाँको भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले विसं २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । हाल देशभर २३९ जना पर्यटक प्रहरी रहेको उहाँले बताउनुभयो । साउन १५ देखि सञ्चालन भएको पहिलो चरणको तालिममा देशभरका ३० पर्यटक प्रहरी सहभागी थिए ।