• १५ मंसिर २०८१, शनिबार

भारतद्वारा प्याज निर्यातमा चालिस प्रतिशत महसुल

blog

काठमाडौँ, भदौ ४ गते  । भारतले सरकारले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक मागलाई असर नपरोस् भन्ने हेतुले शनिबार भारतको अर्थ मन्त्रालयले निर्यातलाई नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ । 

भारतको अर्थ मन्त्रालय अन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले भदौ २ देखि पुस १५ सम्म लागु हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो ।

शनिबारदेखि लागु हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रण गर्न दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको हो । 

भारत विश्वको सबैभन्दा ठुलो प्याज निर्यातकर्ता मुलुक हो । नेपाललगायत विभिन्न मुलुकमा प्याज निर्यात हुने गर्छ । नेपालमा ९५ प्रतिशत भारतबाट आयात हुने गर्छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल बढाएसँगै आयात हुँदा मूल्य बढेर आउने छ । त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा प्याज भारतबाट आयात हुने गर्छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट छ अर्ब ८७ करोड ६७ लाख रुपियाँको १८ करोड किलो प्याज आयात भएको छ । स्थानीय बजारमा चीनबाट समेत प्याज आउने गर्छ । 

चालु आवको बजेटमार्फत आन्तरिक उत्पादनलाई प्रवर्धन गर्न प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको थियो । त्यति बेला बजारमा प्याजको मूल्य ह्वात्तै बढेको थियो । त्यसपछि बजारमा क्रमिक रूपमा प्याजको मूल्य घट्दै गएको छ । हाल बजारमा प्रतिकेजी प्याजको मूल्य ६० देखि ६५ रुपियाँ रहेको छ । काठमाडौँ उपत्यकामा खपत हुने दैनिक ९० देखि एक सय टन प्याज भारतबाट नै आउने गरेको कालीमाटी बजार विकास समितिले जनाएको छ । अब प्याजको मूल्यमा केही बढोत्तरी हुने देखिएको र स्वदेशी उत्पादनका लागि किसानलाई अवसरसमेत जुटेको छ ।