• ३ जेठ २०८१, बिहिबार

नवलपुरमा सुरु भयो सर्प महोत्सव (फोटो फिचर)

blog

नेपाल सर्प महोत्सवको उदघाटनसत्रमा सहभागीहरु । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, भदौ ३ गते । नेपालमै पहिलो पटक नवलपुर सदरमुकाम कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ सुरु भएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो । 

नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ ।

सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइ बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको सर्प संरक्षणकर्मी तथा नेपाल सर्प महोत्सव मूल आयोजक समितिका निर्देशक कमल देवकोटाले जानकारी दिनुभयो । 


महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टलहरु राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्ने बारेमा पनि जानकारी दिइने देवकोटाले बताउनुभयो । महोत्सवमा जीवित सर्पको प्रदर्शनी गरिएको थियो । 

सर्प कति विषालु हुन्छन् ?

भेरी अञ्चल अस्पताल नेपालगञ्जका सिनियर कन्सल्ट्यान्ट एवं स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा. कृष्णप्रसाद आचार्यका अनुसार अधिकांश सर्प विषरहित हुने भएकाले सर्पले टोकिहालेमा आत्तिनु हुँदैन । ‘२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन् । सर्पले टोक्दैमा आत्तिनु हुँदैन, डा. आचार्यले भन्नुभयो, ‘विषालु सर्पले नै टोकिहालेमा पनि २० प्रतिशतले विष फाल्दैन । अर्थात् ‘ड्राइ बाइट’ हुन्छ ।  

सर्पले टोकेमा के गर्ने ? 

डा. आचार्यका अनुसार विषालु सर्पले टोकेर विष फालिहालेमा अहिले देशभर सर्पदंशको उपचारका लागि एक सयभन्दा बढी ठाउँमा उपचार केन्द्रहरु छन् । सर्पदंशबाट मर्ने दर निक्कै कम छ । पहिले १०–१२ प्रतिशत हुनेगरेकोमा अहिले दुई प्रतिशत मानिस सर्पदंशबाट ज्यान गुमाउने गरेको उहाँको भनाइ छ । 


सर्पले टोकेमा त्यसलाई नमार्ने, टाढाबाट फोटो खिच्ने वा घेरेर राख्ने र सर्पविज्ञ बोलाएर सर्प पहिचान गर्ने गर्नुपर्छ, उहाँले भन्नुभयो । सर्पले टोक्नेवित्तिकै टोक्ने, काट्ने, चुस्ने गर्नु हुन्न । उपलब्ध छ भने मेडिकल ब्याण्डेजले बाध्ने र जति सक्दो सर्पदंशको उपचार हुने अस्पतालमा विरामीलाई लग्नुपर्ने आचार्यको भनाइ छ ।  

नागपञ्चमीमा नागको महत्व 

श्रावण शुक्ल पञ्चमीको दिन सोमबार नागको पूजागरी घर–घरमा नाग टासिन्छ । हिन्दु धर्मसंस्कार अनुसार प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन नागको पूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नाग अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरिन्छ ।

नागको फोटो घरमा टाँस्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको डर नहुने धार्मिक विश्वास रहिआएको छ । यो धार्मिक विधि कुनै आडम्बर नभएर यसको आफ्नै वैज्ञानिक महत्व रहेको विज्ञको भनाइ छ । 

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहणगरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । 


सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सरजस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य छ । मुसालगायतका जीवबाट बाली बचाउन सहयोगी भूमिका खेल्ने भएकाले सर्पलाई किसानको साथी पनि भनिन्छ ।