काठमाडौं, भदौ २ गते । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्नुहुँदै डा. महतले भन्नुभयो, ‘‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौँ । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो ।’’
प्रवक्ता महतले भन्नुभयो, ‘‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौँ । हरेक दिन हामी काम गरौँ र त्यो कामको प्रचार पनि गरौँ ।’’
डा. महतले सङ्गठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो सङ्गठनको असफलता हो ।’’
‘‘कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अवच्छिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, सङ्गठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ,’’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोड्नुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ ।’’
‘‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौँ भने मात्र कायापलट हुन्छ । कसैको बोल्ने क्षमता होला, कसैको सङ्गठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला ।,’’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘‘कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौँ ।’’
‘‘सामाजिक सञ्जालको अवसर र चुनौतीको बीचमा जनतामाँझ सही कुरा सुसूचित गर्ने अधिकार र त्यसका आधारमा दृष्टिकोण बनाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने चुनौतीका बीचमा हामी छौँ । नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन्’ उहाँले भन्नुभयो, ‘‘कार्यालयमा काहीँ सहयोग गरेको देखाउँछन् । यो दृश्य पटक पटक देखिन्छ । खोल्यो कि त्यही देखिन्छ । गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ ।’’
यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउनुहुँदै डा. महतले भन्नुभयो, ‘‘यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले सोचेनौँ । यस्ता काम हामी सधैँ गरिरहेका हुन्छौँ, देशैभरि हाम्रा साथीहरूले गरिरहेका हुन्छन्, तर कांग्रेसले देखाउनका लागि गरेका छैनन् । देखाउने हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य काम गर्ने हो ।’’
कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा. महतले भन्नुभयो, ‘‘यो फरक हामीले जनतालाई बुझाउनुपर्छ । अब हामीले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ । यदि यो काम गरेनौँ भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ ।’’
म चाहिँ ठुलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थे, अरू भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौँ । यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामका बारेमा सामाजिक सञ्जालमा समय खर्चिऔँ भने मात्र हाम्रो मिसन सफल हुने प्रवक्ता महतले बताउनुभयो ।