काठमाडौं, भदौ १ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताउनुभएको हो ।
‘‘हामीले भनेका छौँ सबैको लागि ऊर्जा । आगामी दुई वर्षभित्र राष्ट्रव्यापी रुपमा पूर्ण विद्युतीकरण । देशभरी पूर्ण विद्युतीकरणको लक्ष्य निर्धारण गरेका छौँ । पाँच वटा प्रदेशमा यसै आर्थिक वर्षमा, दुईवटा प्रदेशमा आगामी आर्थिक वर्षमा कम्प्लिट गर्नेगरी पूर्ण विद्युतीकरण जसलाई हामीले सबैका लागि स्वच्छ ऊर्जाको सुनिश्चित गर्ने मिसनका साथ काम गरिराखेका छौँ । विकासका लागि ऊर्जा र समृद्धिको लागि ऊर्जा ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘हामीले यो अभियान, यो मिसनअन्तर्गत पनि काम गरिराखेका छौँ । यो सामान्य पूर्वाधारको कुरा मात्रै छैन । यसले मुलुकको समग्र अर्थतन्त्रलाई, यो एउटा सेवा प्रवाहको क्षेत्रमात्र भएन । उज्यालोको कुरा मात्र भएन ।’’
मन्त्री बस्नेतले ऊर्जालाई देशको विकास र समृद्धिका लागि प्रयोग गर्ने अभियानका साथ अगाडि बढेको बताउनुभयो । उहाँले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले विद्युत् निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कृषि, पर्यटन, औद्योगिकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भीरताका साथ उठाएको मन्त्री बस्नेतको भनाइ छ ।
‘‘समग्र अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक विकासमा प्रत्यक्ष योगदान गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउनका लागि योगदान गर्ने, त्यसको पूर्वाधारको रुपमा काम गर्ने यसको बहुआयामिक अर्थ एवम् महत्त्व जहाँनेर छ यो सबै दृष्टिले हेरेर अब हामी घरायसी प्रयोजनका लागि मात्र विद्युतीकरणको कुरा गरिराखेका छैनौँ । हामी उद्योगधन्दाहरु अर्थात् आर्थिक विकासका पूर्वाधारहरुको लागि मात्रै पनि कुरा गरिराखेका छैनौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘खपत क्षमता वृद्धि गर्दै विद्युत् निर्यातको कुरा गरिराखेका छौँ । निर्यात व्यापारको कुरा गरिराखेका छौँ र आर्थिक समृद्धिमा अझ प्रत्यक्ष योगदान पुग्ने विश्वास पनि हामीले लिइराखेका छौँ । त्यसैले सबैका लागि ऊर्जा, कृषिका लागि, पर्यटन व्यवसायको प्रवद्र्धनका लागि, औद्योगीकरणका लागि र समग्र अर्थतन्त्रका लागि हामीले विकासका लागि ऊर्जा, समृद्धिका लागि ऊर्जाको एजेण्डालाई त्यही महत्त्व र गम्भीरताका साथ उठाएका छौँ ।’’
उहाँले सरकारले स्वच्छ वातावरणका लागि नवीकरणीय ऊर्जाको कुरा पनि महत्त्वका साथ उठाएको बताउनुभयो । मन्त्री बस्नेतले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि जानकारी दिनुभयो ।