• ८ जेठ २०८१, मङ्गलबार

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

blog

काठमाडौं, भदौ १ गते । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलगायतका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् ।

सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा सात दशमलव ७४ प्रतिशत पुगेको छ । अर्थात् गतवर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । त्यस्तै गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ । गत आवमा आयात १६ दशमलव एक र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा आयात २४ दशमलव ७ र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको थियो ।

गत आवको अन्त्यसम्ममा चालु खाता रु. ७२ अर्ब १६ करोडले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ दशमलव ६ प्रतिशतले कमी आई रु. सात अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. पाँच अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी रु १८ अर्ब ५६ करोड थियो ।

गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २१ दशमलव दुई र अमेरिकी डलरमा १२ दशमलव एक प्रतिशतले बढेको छ । त्यस्तै, शोधनान्तर स्थिति रु. दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय ११ दशमलव चार प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२ दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप रु. ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु. ४७ खर्ब ९७ अर्ब छ ।

विसं २०७९ असार मसान्तमा २००९ दशमलव ५ को बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७ दशमलव १ को बिन्दुमा कायम भएको छ । गत आवको असार मसान्तसम्ममा कुल धितोपत्र बजार पुँजीकरण रु. ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ । रासस