• २० वैशाख २०८१, बिहिबार

एकै पटक दुई सय बङ्गलादेशी पर्यटक नेपालमा (फोटो फिचर)

blog

जहाज चार्टर गरेर नेपाल भ्रमणका लागि आएका दुई सयभन्दा बढी बङ्गलादेशी पर्यटक । तस्बिर : कबिन अधिकारी

काठमाडौं, भदौ १ गते । दुई सयभन्दा बढी बङ्गलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् ।

शुक्रबार मध्याह्न दुई सयभन्दा बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चेबाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बङ्गलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि (शनिबार) गरेर बङ्गलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ ।


पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बङ्गलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बङ्गलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बङ्गलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिब सात सय जति पर्यटक आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बङ्गलादेशका पर्यटकहरु बढिरहनुभएको छ ।’’


त्यस्तै, बङ्गलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बङ्गलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’’ पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।