• १५ मंसिर २०८१, शनिबार

मकवानपुरबाट हुँदै आएको निर्यात घट्यो

blog

राममणि दाहाल 

हेटौंडा, भदौ १ गते ।  मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भन्दा गत आवमा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।

गत आव २०७९/८० मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले ४८ करोड ६६ लाख ६९ हजार ८०३ रुपियाँ बराबरको निर्यात गरेका छन् । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ) का अनुसार आव २०७८/७९ मा यस जिल्लाबाट उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी एक अर्ब ५५ करोड ५६ लाख ८० हजार १२९ रुपियाँ बराबरको निर्यात गरेका थिए । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा यस जिल्लाबाट हुने निर्यात व्यापारमा वृद्धि भएको थियो ।

आव २०७७/७८ मा २३ करोड ६२ लाख ६४ हजार ६९८ रुपियाँ बराबरको निर्यात मकवानपुरबाट भएको थियो ।

यस्तै मकवानपुरबाट आव २०७६/७७ मा २५ करोड ५७ लाख ७३ हजार ४९६ रुपियाँको निर्यात भएको मउवासङ्घले जनाएको छ । आव २०७८/७९ मा एक व्यापारिक प्रतिष्ठान र चार वटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्य पदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेको थिए । 

आव २०७८/७९ मा हेटौँडामा रहेको एक कम्पनीले फोहोरो प्रशोधन गर्ने उपकरण मउवासङ्घबाट जारी उत्पत्तिको प्रमाणपत्रका आधारमा जापान निर्यात गरेकामा गत आवमा अन्य जिल्लाबाट जारी उत्पत्तिको प्रमाणपत्रका आधारमा जापान निर्यात गरेको छ ।

निर्यातजन्य दुई उद्योग थपिए

गत आवमा मकवानपुरबाट थप दुई उद्योगले निर्यात गरेका छन् । खजुरीको नेपाल प्रालि र नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले आफ्नो उत्पादन निर्यात गरेका हुन् । यहाँ बिस्कुट, पपलगायत उत्पादन गर्दै आएको खजुरीको नेपालले पप भारत निकासी गरेको हो । यस्तै नेपाल इकरात इन्जिनियरिङ कम्पनीले ट्रान्सफर्मर भुटान निर्यात सुरु गरेको छ । नेपाल इकरात इन्जिनियरिङले यसअघि पनि ट्रान्सफर्मर निकासी गर्दै आएकामा केही वर्षदेखि निकासी रोकिएको थियो ।  

बिर्को निर्यात गर्दै आएको प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेसनल (नेपाल) प्रालिले भारतसहित तेस्रो मुलुक फिजी र अस्ट्रेलियामा गत आवबाट निर्यात गरेको सङ्घले जनाएको छ । उक्त उद्योगले चीन हुँदै फिजी र अस्ट्रेलियामा निर्यात गरेको हो । 

गोदावरी पोलिप्याक्स एन्ड एफआइबिसी प्रालिले त्रिपाल र बोरा तथा इभान्स लाइफ साइन्सेस प्रालि लोठसल्लाको पाउडर भारत निकासी गर्दै आएको छ ।

अघिल्लो आवमा यस जिल्लाबाट गुराँस ग्रुप इन्टरनेसनल प्रालिले होटलमा नुडल्स, चिउरा, खुर्सानीलगायतका नेपाली उत्पादन अस्ट्रेलियामा र एडभान्स टेक्नोलोजी एन्ड मेसिन नेपालले फोहोर प्रशोधन गर्ने उपकरण जापान निर्णय गरेको थियो । गुराँस ग्रुप इन्टरनेसनलको गत आवमा निर्यात नभएको सङ्घले जनाएको छ । 

उता अघिल्लो आवमा एक अर्ब ४२ करोड ६८ लाख ९८ हजार ५२४ रुपियाँ बराबरको निर्यात गरेको गोदावरी पोलिप्याक्सको गत आवमा निर्यात घटेर ७२ लाख ४७ हजार ५२६ रुपियाँको मात्र निर्यात भएको छ । 

सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले आर्थिक मन्दीसँगै निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने नीतिको अभावमा निर्यात व्यापार घटेको बताउनुभयो । 

एक दशकअघि आव २०६८/६९ मा ६७ करोड ८२ लाख ३० हजार ३९३ रुपियाँ बराबरको निर्यात व्यापार भएकामा प्रजातन्त्रपछि तत्कालीन सरकारले लिएको खुला तथा उदार अर्थनीतिका कारण मकवानपुरबाट दुई दशकअघि आव २०५७/५८ मा दुई अर्ब २९ करोड नौ लाख २७ हजार रुपियाँ बराबरको निर्यात व्यापार भएको थियो ।