• ११ मंसिर २०८१, मङ्गलबार

नेपालमा लगानी बढाउन आग्रह

blog

काठमाडौँ, भदौ १ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । ‘चीन साउथ एसिया बिजनेस फोरम’ का तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित ‘चाइना नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याच मेकिङ’ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको प्राकृतिक स्रोत, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँगको सहज बजार पहुँचको उपयोग गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको हो । 

युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थललगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्न सहज हुने अध्यक्ष ढकालको भनाइ थियो । कुनमिङ र पोखराबिचको भगिनी सहर सम्बन्ध रहेकाले सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवर्धन गर्ने गरी सम्बन्धलाई उपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । चिनियाँ ड्र्यागन बोट फेस्टिभलमा सिचुआन एयरलाइन्सको पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन प्रवर्धनमा सहयोग पुगेको पनि उहाँले बताउनुभयो । 

बैठकमा उहाँले ऊर्जा, पर्यटन, पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसर रहेको जानकारी गराउनुभयो । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाइरहेकाले भारत, युरोपियन युनियन र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताले उपयोग गर्न सक्ने महासङ्घ अध्यक्ष ढकालको भनाइ थियो । युनान र नेपालबिचको आर्थिक सम्बन्ध, व्यापार र अन्तरसरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले ‘चाइना साउथ एसिया एक्स्पो’ मा ‘नेपाल कन्ट्री पेभिलिएन’ मा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न पनि सहभागीलाई आग्रह गर्नुभएको थियो ।