• ११ मंसिर २०८१, मङ्गलबार

उद्यमशीलताका लागि स्वदेशमै पर्याप्त अवसर

blog

काठमाडौँ, साउन ३२ गते  । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै पर्याप्त उद्यमशीलताका अवसर भएकाले युवावर्गलाई खोजी गर्न आग्रह गर्नुभएको छ । 

राष्ट्र निर्माण मञ्च नेपालले बुधबार राजधानीमा आयोजना गरेको ‘उद्यमशील युवा सृजनशील युवा’ विषयक अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री महतले युवावर्गलाई स्वदेशमा रोजगारी सिर्जना गर्न प्रशस्त सम्भावना भएकाले खोजी गर्न आग्रह गर्नुभएको हो । 

“रोजगारीका लागि दिनहुँ ठुलो सङ्ख्यामा युवावर्ग विदेश गइरहेका छन्, स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले स्किम ल्याए पनि त्यसका बारेमा जानकारी नहुँदा कार्यान्वयनमा आउन सकेको छैन,” अर्थमन्त्रीले भन्नुभयो । 

पछिल्लो समय युवाले सफ्टवेयर निर्माण गरेर निर्यात गरिरहेका र सूचना प्रविधि क्षेत्रमा उद्यमशीलता गर्न आउनेका लागि सरकारले आयमा लाग्ने करमा ५० प्रतिशत छुटको व्यवस्था गरेको अर्थमन्त्री महतको भनाइ छ । 

“सूचना प्रविधि, पर्यटन, जलविद्युत् र कृषि व्यवसायका क्षेत्रमा पर्याप्त सम्भावना छ,” अर्थमन्त्री महतले भन्नुभयो, “बाहिरबाट सिकेर ल्याएको सिप प्रयोग गरेर उद्यमशीलता गर्न सकिने र यसबाट आन्तरिक तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिन्छ ।” कुनै पनि काम सानो ठुलो नभनी नेपालमै पर्याप्त सम्भावना छ भनेर खोजी गरेर लाग्ने हो भने त्यसका लागि सरकारले सस्तो ब्याज र सहुलियत ऋणको व्यवस्था गर्ने अर्थमन्त्रीको भनाइ छ । 

विदेश जानेबित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवा मुक्त हुनु पर्छ । यहाँ अवसर अथाह छ, त्यसको उपयोग गर्नु पर्छ, त्यसको खोजीमा आजका युवालाई लाग्न अर्थमन्त्री डा. महतले जोड दिनुभयो ।

“युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुसी छैन,” मन्त्री महतले भन्नुभयो, “त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।”

“सूचना प्रविधिको स्पेसमा हामी छौँ, जसले गर्दा हाम्रो देशमा अवसर पनि छ । हिजो त्यो अवसर थिएन, भूपरिवेष्टित देशमा छौँ, हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुद्रपार कसरी पु-याउनेलगायतका समस्या छन्,” मन्त्री डा. महतले भन्नुभयो, “प्रविधिले गर्दा मार्केटिङ सजिलो भएको छ । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शून्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।”

“नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोजगारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकारात्मक कुरा गर्छन् । सामाजिक सञ्जालमा नकारात्मक कुरा धेरै चल्छ । सकारात्मक कुरा यसरी सर्कुलेट हुँदैन,” मन्त्री डा. महतले आग्रह गर्नुभयो, “अब नयाँ पोजेटिभ नेसनल डिस्कोर्स सुरु गरौँ । जस्तो पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसर सिर्जना गर्छ ।” 

जो बाहिर गएर स्किल लिएर फर्किन्छ, उनीहरूलाई सरकार प्रोत्साहन गर्न चाहन्छ, जति फर्किएका छन्, उनीहरूले गरेको कृषि उद्योग यहाँ लोकप्रिय बन्दै गएको उहाँको भनाइ छ । देशबाहिर पनि अवसर पाउन कठिन छ, विदेश जाने तयारीमा रहेका युवा जसले पूर्ण छात्रवृत्ति पाएका छैनन्, पढाइ पूरा नहुने परिस्थिति, आर्थिक स्रोत जुटाउन नसक्ने अवस्था रहेको उहाँको भनाइ छ । 

सो अवसरमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले उद्यमशीलता विकास गर्ने धेरै स्किम ल्याए पनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । मुलकमा उद्यमशीलता विकास गर्न,  रोजगारी सिर्जना गर्न सिप र तालिममा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणमान श्रेष्ठले सहुलियत कर्जाको माध्यमबाट युवालक्षित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उत्पादन र रोजगारीलाई जोड दिँदै बैङ्कहरूले हाल दिँदै आएका सात प्रकारका सहुलियतपूर्ण कर्जालाई बढाएर १० प्रकारमा पु-याउन लागिएको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय मञ्च नेपालका संयोजक भूपेन्द्रजङ्ग शाहीले मुलुकको आर्थिक समृद्धि उद्यमीबाट हुने भएकाले युवावर्गले उद्यमशीलता हासिल गर्न आवश्यक रहेको बताउनुभयो ।