• १२ मंसिर २०८१, बुधबार

तीन महिनाभित्र डायलायसिस सहजः मन्त्री सिंखडा

blog

कार्यकालको एक सय दिनका उपलब्धि सार्वजनिक गर्नुहुँदै स्वास्थ्य मन्त्री सुशीला सिंखडा । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, साउन ३१ गते ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले तीन महिनाभित्रै गण्डकी प्रदेशमा डायलायसिस सेवा सहज हुने बताउनुभएको छ । मन्त्री नियुक्त भएको एक सय दिनका उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजना भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ स्वास्थ्य संस्थामा डायलायसिस सेवा उपलब्ध छ । प्रदेशमा पाँच सय ७६ जनाले नियमित डायलायसिस सेवा दिइरहेका छन् भने २०३ जना सेवाको पालो पर्खाइमा छन् ।

“अहिले तीन सय जना पालो पर्खाइमा हुनुहुन्छ । तीन महिनापछि हामी पर्खाइमा बस्नुपर्ने बिरामीको सङ्ख्या शून्यमा झार्छाैं,” उहाँले भन्नुभयो ।

प्रदेश सरकारले पोखरामा सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा २५ शय्याको डायलायसिस केन्द्र सञ्चालन गरेको छ । साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले यो अस्पतालका लागि ४८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले दमौली, लमजुङ, स्याङ्जा र पर्वतका अस्पतालमा दुई÷दुई डायलायसिस मेसिन थप गरेको छ ।

सङ्क्रामक अस्पतालका २५ मध्ये १२ मेसिन अहिले चलाइएको छ । मेसिन सञ्चालनका लागि १३ जना स्टाफ नर्सले काठमाडौंमा तालिम लिएर अस्पताल फर्किइसकेका छन् । चाँडै डायलायसिस केन्द्रका सबै मेसिन चलाउने तयारी छ । मन्त्री सिंखडा भन्नुहुन्छ, “२५ वटै मेसिन चलेपछि दिनमा ७५ जनालाई सेवा दिन सकिन्छ । यो केन्द्रलाई पूर्ण क्षमतामा चलाउने र जिल्लाका अस्पतालमा मेसिन र जनशक्ति उपलब्ध गराएर तीन महिनाभित्र डायलायसिस सेवाका लागि पर्खिनेको सङ्ख्या शून्यमा झार्ने योजना छ ।”

मन्त्री सिंखडाले ४६ बुँदे कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । अहिले प्रदेशभर फैलिएको आँखा पाक्ने रोग नियन्त्रण र उपचारका लागि सबै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राखिएको र सहज उपचारको अवस्था मिलाइएको उहाँको भनाइ छ । उहाँले अघिल्लो सरकारले थालेका राम्रा कामलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रमहरु सरकारले गरिरहेको जानकारी उहाँले दिनुभयो ।

मन्त्रालयका स्वास्थ्यतर्फका सचिव डा. विनोदबिन्दु शर्माले गण्डकीमा मङ्गलबारसम्म ११ हजार ९२८ जना आँखा पाक्ने रोगबाट पीडित भएको जानकारी दिनुभयो । अहिले देखिएको आँखाको सङ्क्रमणमा आँखाको कर्नियामा समस्या नदेखिएको जनाउँदै उहाँले पाँचदेखि सात दिनमा आफैं निको हुने जानकारी दिनुभयो ।

यसैगरी, कास्कीमा अहिलेसम्म डेंगुबाट करिब पाँच सय जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयले १०२ टोल फ्रि नम्बरबाट सञ्चालन गर्ने गरी एम्बुलेन्स डिस्प्याच सेन्टर सुरु गरेको छ । जटिल अवस्थाका गर्भवती र सुत्केरीहरुलाई हेलिकोप्टरमार्फत उद्धारलाई मन्त्रालयले निरन्तरता दिएको छ । गत आर्थिक वर्ष छ जनालाई यो सेवा दिइएको थियो भने यो आर्थिक वर्ष सुरु भएपछि एक जनाको हेली उद्धार गरिएको छ ।