• ११ मंसिर २०८१, मङ्गलबार

‘उत्पादन बढाएर राजस्व उठाउने सरकारको नीति’

blog

काठमाडौँ, साउन ३१ गते  । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ ।

मुलुकभर ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारी सहभागी रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनुभएको हो ।

आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानले स्वागत गरेको उल्लेख गर्दै उहाँले यसबाट कोही पनि आतङ्कित नहुन आग्रह गर्नुभयो । “आन्तरिक उत्पादन बढाउनु पर्छ भन्नेमा सबैको एकमत रहेकाले यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैँ आयात मात्र गर्नु पर्छ भन्ने कुरा हो ?” उहाँले प्रश्न गर्नुभयो ।

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उहाँको विश्वास रहेको छ । गत वर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको र यसले गर्दा राजस्व सङ्कलन बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्ने हुनाले उनीहरूलाई करको दायरामा ल्याउनु पर्छ ।”

“निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु हुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । बिस्तारै ब्याज घटिरहेको छ,” अर्थमन्त्री महतले भन्नुभयो, “सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन ।” 

निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराको चर्चा गर्न सुझाउँदै उहाँले भन्नुभयो, “अब अर्थतन्त्र सुधारतर्फ नकारात्मक मात्र कुरा गर्ने, खराब मात्र छ भनेर हल्ला फैलाउनु राम्रो होइन । हाम्रो देशमा नकारात्मकता नै लोकप्रिय हुने गरेको छ । राम्रो कुराको चर्चा नै हुँदैन । सकारात्मक कुराको चर्चा हुनु पर्छ ।”

अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्त मात्र भएको तर अब बैङ्कमा पर्याप्त तरलता रहेको, बिस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उहाँको विश्वास छ ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्ने उहाँको जोड थियो । “पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ । त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनु पर्छ,” उहाँले भन्नुभयो । सो अवसरमा अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाउनुभयो । 

गत आवमा लक्षित राजस्व सङ्कलन नहुँदा बजेटको आकार नै खुम्च्याउनु परेपछि झस्किएका अर्थमन्त्रीले भन्नुभयो, “आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्ने, यसमा के कस्तो समस्या छ र त्यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पूर्ण ध्यान दिनुपर्ने छ ।”

“कर तिर्नुपर्ने भए पनि विभिन्न बहाना बनाएर करको दायरामा नआएकालाई छुट दिनु हुँदैन । यसो गर्न दियो भने अरू करदाता पनि भाग्न सक्छन्,” उहाँले भन्नुभयो, “हाम्रोमा सानोतिनोलाई लछारपछार पार्ने तर जो अनेक चलखेल गर्छ, उसलाई के गर्ने हो या होइन भन्ने छ । करको दायरामा ल्याउने हो ।” केही व्यक्ति तथा फर्मले भने बढी कर तिर्न तयार रहे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा आउन आनाकानी गरिरहेको अर्थमन्त्री महतको भनाइ छ ।