• २० असोज २०८१, आइतबार

‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन र कवितालाई

blog

‘खोटाङ प्रतिभा–२०८०’ का विजेताहरु । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, साउन ३० गते ।
 ‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन राई र कविता श्रेष्ठले जित्नुभएको छ । सोमबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न भएको फाइनलमा गायनतर्फको उपाधि आश्विनले र नृत्यतर्फको उपाधि कविताले जित्नुभएको हो । 

खोटाङ कलाकार समाजले जिल्लाको १० वटै स्थानीय तहमा पुगेर प्रतिभा छनोट गरेको थियो । गायन र नृत्यतर्फ सबै स्थानीय तहबाट एक/एक जना छनोट गरेर समाजले काठमाडौँमा फाइनल कार्यक्रम गरेको हो । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके)ले संयुक्त रूपमा आयोजना गरेको फाइनल कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुभएको थियो ।

गायनतर्फको उपाधि हलेसी तुवाचुङ नगरपालिकाबाट छनोट भएका आश्विनले हात पार्नुभएको छ भने प्रतियोगिताको दोस्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई र तेस्रो बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार हुनुभएको छ ।

यस्तै, नृत्यतर्फको उपाधि खोटेहाङ गाउँपालिकाका प्रतिभा कविता राईले प्राप्त गर्नुभएको छ । साथै दोस्रो बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा र तेस्रो दिप्रुङ चुइचुम्मा गाउँपालिकाका मनिता राई हुनुभएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दुवै विद्यातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवम् गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।

राईका अनुसार दुवै विद्याका विजेता छ जनालाई गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ । यस्तै, पालिकाबाट छनोट भएर गएका अन्य १४ जना प्रतिभाहरूलाई प्रोत्साहन स्वरूप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्च प्रदान गरिएको छ । पालिकाबाट छनोट हुने २० जना प्रतिभालाई काठमाडौँमा एक महिनासम्म बस्ने खाने व्यवस्था र गायन एवम् नृत्य कक्षा आयोजकले प्रदान गरेको थियो ।

खोटाङ घर भई काठमाडौँलाई कार्यक्षेत्र बनाएर बसेका गायक तथा सङ्गीतकारहरूले खोटाङ कलाकार समाजको २०७७ सालमा गठन गरेका थिए । खोटाङ जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरू खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले ‘खोटाङ प्रतिभा–२०८०’ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।