• २३ पुस २०८१, मङ्गलबार

काठमाडौँमा भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

blog

काठमाडौँस्थित भारतीय राजदूतावासमा आयोजित ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा बोल्नुहुँदै भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ३० गते । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाएको छ । मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो ।


उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, सङ्गीत र नाच प्रस्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रूपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताउनुभयो । उहाँले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने सङ्कल्प लिएको जानकारी दिनुभयो ।


‘‘२०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पुग्नेछ । सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पूर्णतः विक्षित देश बनाउने लक्ष्य लिनुभएको छ । आगामी २५ वर्षमा अमृतकालको समय बनाएर पूर्ण रूपमा आत्मनिर्भर भारत बनाएर जुन सङ्कल्प लिनुभएको छ, त्यसलाई हासिल गर्न आफ्नो तर्फबाट योगदान दिनुपर्छ ।,’’ राजदूत श्रीवास्तवले भन्नुभयो, ‘‘हाम्रो देशमा विश्वको सबैभन्दा ठुलो लोकतन्त्र छ । सबै गणतान्त्रिक देशका लागि भारत एक बहुसांस्कृतिक देश हो । भारत र नेपालको बीचमा गहिरो सम्बन्ध छ, यो नातालाई अझै मजबुत बनाउँदै लैजानेछौँ । साथै नेपालका नायकहरूलाई हामी सम्झन्छौँ जो भारत स्वतन्त्रताका लागि सम्मान गर्छौँ, उनीहरूलाई भारतले बिर्सिन सक्दैन ।’’

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।