• १५ मंसिर २०८१, शनिबार

व्यापार नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न छलफल

blog

काठमाडौँ, साउन ३० गते  । व्यापार तथा यससम्बन्धी नीतिमा महिलाको क्षमता अभिवृद्धि गर्न सरोकारवालासँग छलफल भएको छ । 

व्यापारमा प्रोत्साहित गर्ने, लैङ्गिक सोचलाई प्रवर्धन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्रको संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूल प्रवाहीकरण कार्यशाला आयोजना भएको हो । 

कार्यशालामा व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलन र व्यापारमा महिला सहभागिता, विकल्प र नीतिमार्फत महिला सशक्तीकरणका कदम र लैङ्गिक मूल प्रवाहमा अन्य देशमा राम्रो अभ्यास प्रवर्धन गर्ने उपकरणसम्बन्धी प्रमुख मुद्दाका विषयमा छलफल भएको थियो । 

व्यापार नीतिमा लैङ्गिक मूल प्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालालाई यसबारे बुझाउने र महिला व्यावसायिक सङ्घलाई यससम्बन्धी नीतिगत प्रस्ताव तयार गर्न आवश्यक परामर्श गर्ने बताइएको छ । सो अवसरमा आइटिसीद्वारा तयार पारिएको ‘सिट्रेड आउटलुक’ ले औँल्याएका विषयबारे सम्बद्ध विज्ञ र सरकारी निकाय, महिला सङ्गठन र विकास साझेदार निकायका प्रतिनिधिसँग छलफल भएको छ । 

कार्यशालामा सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाका लागि आफ्ना अनुभव र सिकेका पाठ आदानप्रदान गरिनुका साथै महिलाको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपाय खोजिने छ ।

यस अवसरमा महिला व्यवसायी व्यापारमा उनीहरूको सहभागिता प्रवर्धन गर्ने नीतिगत प्राथमिकतामा छलफल गर्ने छन् । महिला उद्यमीलाई व्यापारको मूल प्रवाहमा ल्याउनका लागि कार्यशालामा महिलाद्वारा नै तयार पारिने नीति दस्ताबेजलाई नीति निर्मातासमक्ष पेस गरी कार्यान्वयनको लागि पहल गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबिचको समन्वय आवश्यक रहेको बताउनुभयो । 

यस कार्यशालाले व्यापारमा महिलाको सहभागिता बढाउन अनुकूल वातावरण सिर्जना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा महिलाको बढी पहुँचका लागि अवसर वृद्धि गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ । सो अवसरमा आइटिसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने जानकारी दिनुभयो । 

नेपालका लागि इयु डेलिगेसनकी सहयोग उपप्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणले महिलालाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसरको परिकल्पना गरेको बताउँदै महिलालाई व्यापारको मूल प्रवाहीकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायबिच सामूहिक प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अति कम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।