काठमाडौं, साउन २९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चाको प्रतिनिधित्व एवम् पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँस्थित कमलादीमा सम्पन्न चौथो पूर्ण बैठक सम्बन्धमा सोमबार जारी परिपत्रमा सो निर्णयबारे उल्लेख गरिएको छ ।
जारी परिपत्रमा भनिएको छ, ‘‘समाजवादी मोर्चामा प्रतिनिधित्व र पार्टी एकता सम्बन्धमा वार्ता गर्ने जिम्मा उपाध्यक्ष कृष्ण बहादुर महरालाई दिइएको छ । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, उद्योग, व्यापार, सुकुम्वासी आदिको संयोजनको जिम्मेवारी उपाध्यक्ष पम्फा भुसाललाई दिइएको छ ।’’
माओवादी केन्द्रले बुद्धिजीवी मोर्चाको जिम्मेवारी दिनानाथ शर्मा, कर्मचारी सङ्गठन फ्र्याक्सन इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेललाई दिने निर्णय गरेको छ ।
यसैगरी, कोशी प्रदेशको चक्रपाणी खनाल, मधेश प्रदेशको लीलामणि पोखरेल, बागमतीको जनार्दन शर्मा, गण्डकीको देवेन्द्र पौडेल, लुम्बिनीको हितमान शाक्य, कर्णालीको मातृका यादव, सुदूरपश्चिमको डिलाराम आचार्य, सम्पर्क समन्वय प्रदेशको गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेशको वर्षमान पुन र प्रवास प्रदेशको जिम्मेवारी राम कार्कीलाई दिने निर्णय गरेको छ ।