काठमाडौं, साउन २९ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गरेको छ ।
तीन दिनसम्म बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक रहेको ठहर गरेको छ ।
कांग्रेसको नौ बुँदे निर्णयमा भनिएको छ, “गठबन्धनको स्थितरता र स्थायित्वका लागि प्रभावकारी रुपमा काम गर्न आवश्यक छ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गर्दछ ।”
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको सहयोगमा बनेको गठबन्धन सरकार निरन्तरता पाएको बताउनुभयो ।
कांग्रेसले नागरिकको जीविकासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । उपभोग्य सामग्रीको मूल्यवृद्वि तथा कालोबजारी नियन्त्रण, नागरिकलाई प्रदान गर्ने सेवा सर्वसुलभ, छिटोछरितो हुनुपर्ने, जग्गाको कित्ताकाटको व्यवस्था सबै स्थानमा कार्यान्वयन हुनुपर्ने, श्रमिक मजदुरको न्यूनतम ज्याला निर्धारण हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।