काठमाडौँ, साउन २९ गते । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा संसद् र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भयो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा ५० जना सांसदले बोल्नुभएको बताउनुभयो । उहाँले सोमबारको बैठकमा अरू सांसदले बोलेपछि बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।
यसैबिच प्रमुख सचेतक लेखकले कांग्रेस बैठकमा सत्ता समीकरण बदल्ने विषयमा कुनै बहस र छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकमा सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने कुरा भएको छैन ।”