काठमाडौँ, साउन २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
मोदीलाई फिर्ता बोलाएपछि जनमत पार्टीकी सांसद अनितादेवी साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।
मोदीलाई फिर्ता बोलाउने निर्णयपछि जनमत पार्टीकी सांसद साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले बताउनुभयो । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाएको थियो ।
यस्तै पदाधिकारी बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले संसद् अवरुद्ध गरेको जनताले मन नपराएको बताउनुभएको छ । माओवादी पदाधिकारी बैठकमा बोल्दै प्रधानमन्त्रीले संसद् अवरुद्ध गरेर उल्टै एमालेलाई नै क्षति भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले संसद् अवरुद्ध हुँदा विधेयकसहित महत्वपूर्ण विषयमा छलफल हुन नसकेको उल्लेख गरेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बताउनुभयो । उहाँले संसद् अवरुद्ध हुँदा सङ्घीय निजामती, प्रहरी ऐन, शिक्षा विधेयक पारित हुन नसकेको बताउनुभयो । अरू जनताका हितसँग सम्बन्धी तमाम विषयमा छलफल हुन नपाएको प्रधानमन्त्रीले प्रस्ट पार्नुभयो ।
सरकार भ्रष्टाचारविरुद्ध उभिएर सुशासनका पक्षमा काम गर्दा जनताले साथ र समर्थन दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले संसद् विघटनदेखि संसद् अवरुद्धसम्म आउँदा एमालेलाई जनताले धेरै बुझ्ने अवसर पाएको उल्लेख गरेको शर्माले बताउनुभयो । “प्रतिपक्षले संसद् अवरुद्ध गरेर अस्वाभाविक प्रदर्शन ग-यो । प्रतिपक्ष भएपछि विरोध गर्नु स्वाभाविकै हो । तर अस्वाभाविक रूपमा संसद् अवरोध गरेर प्रतिपक्षले राम्रो गरेन,” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै शर्माले भन्नुभयो, “सरकारले राम्रो गर्दागर्दै पनि त्यसलाई मुद्दा बनाएर संसद् अवरोध गरेको जनताले मन पराएका छैनन् । संसद् अवरोधले एमालेलाई राम्रो गर्दैन । उहाँहरू विरोधका लागि विरोध गरिराख्नुभएको छ ।” जनताले संसद् अवरोध मन नपराएको बताउँदै प्रधानमन्त्रीले त्यसको क्षति एमालेले भोग्ने बताउनुभयो ।
यस्तै पदाधिकारी बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणले भेटेसम्म सुन काण्डमा जोडिएका दोषीलाई नछोड्ने उल्लेख गर्नुभएको पार्टी सचिव देवेन्द्र पौडेलले बताउनुभयो । तथ्य र प्रमाणले पु्ष्टि भएमा पार्टीकै नेता भए पनि कारबाही हुन सक्ने उहाँले प्रस्ट पार्नुभएको पौडेलले भन्नुभयो ।