• ५ जेठ २०८१, शनिबार

राखेपमा समाजवादीलाई नसमेटेकोमा नेता खनालको असन्तुष्टि

blog

काठमाडौं, साउन २७ गते । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल खेलकुद महासङ्घ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समावेश नगरे सरकारमा बसिरहनु जरुरी नभएको बताउनुभएको छ । 

सरकारले पार्टी निकट नेपाल खेलकुद महासङ्घ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । राखेपमा आफ्नो पार्टी निकट सो महासङ्घलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नुभयो । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महासङ्घलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताउनुभयो ।

नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्नेगरी सङ्गठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आबद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी सरकारसँग पनि सङ्घर्ष गर्छौँ । अहिले खेलकुद परिषद्मा हाम्रो सङ्गठनलाई समावेश गरिएको छैन । किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु । यदि हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो सङ्गठनलाई पनि त्यहाँ सङ्गठित गर्नुपर्‍यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु । सबै खेलाडीहरू उत्साह र उमङ्गका साथ यो क्षेत्रमा लाग्नुस् । र, आफ्नो सङ्गठनलाई बिस्तार गर्नुस् । जनतालाई व्यापक रूपले गोलबन्द गर्नुस् । खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ ।’’

नेता खनालले सबै खेलाडीहरूलाई उत्साहका साथ खेल क्षेत्रको विकासमा लाग्न आग्रह पनि गर्नुभयो ।