• १३ मंसिर २०८१, बिहिबार

ललिता निवासको विषयमा थप छानबिन हुनुपर्छ : अध्यक्ष भट्टराई

blog

सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेसपाका अध्यक्ष बाबुराम भट्टराई । तस्बिर : नवीन सुवेदी

नविन सुवेदी
सुर्खेत, साउन २७ गते । 
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताउनुभएको छ । सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएका उहाँले पत्रकार मार्फत सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको बताउनुहुँदै छानबिन गरौँ भनेर, आफू तयार रहेको बताउनुभयो । 

अध्यक्ष भट्टराईले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क राख्नुभयो ।

‘‘ललिता निवासको विषयमा मेरो पालनामा सानो एउटा निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यो मेरो  नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’’

साथै भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको बताउनुभयो ।  त्यस्तै, उहाँले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

‘‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ ।’’ गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’’ उहाँले भन्नुभयो ।

उहाँले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको बताउनुभयो । भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने उहाँको तर्क  छ ।  भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउनुहुँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने जोड दिनुभयो ।