ठाकुरप्रसाद आचार्य
म्यादी, साउन २६ गते । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा दश वटा ठूला पहिरो भएको अध्ययनले देखाएको छ । बेनीदेखि घाँससम्म ४० किलोमिटर सडक खण्ड पहिरोको उच्च जोखिममा छ । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन थालिएको बेनी–जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।
पहिरोका कारण वर्षातका समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती भोग्दै आएका छन् । सडक निर्माण गर्नुभन्दा पहिला सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन गरिएको थिएन । जसका कारण अहिले सडकमा पहिरोले जोखिम निम्त्याएको छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भन्नुभयो, ‘‘सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले अहिले समस्या आएको हो । अहिले कम्तीमा १० वटा ठूला पहिरोको पहिचान गरी विस्तृत अध्ययन थालेका छौं ।’’
बेनी–जोमसोम–कोरोला सडकको सर्वे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन ।
कोरिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिरोको जोखिम छ । बेनीदेखि घाँससम्म बर्षेनी पहिरोले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ । पहिरोले दुःख दिन थालेपछि गत वर्षदेखि पहिरोको विस्तृत अध्ययन थालिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गतवर्ष हामीले १० वटा ठूला पहिरोको पहिचान गरी विस्तृत अध्ययनका लागि आयोजना निर्देशनालयमा लेखी पठाएका थियौं । तीनवटा पहिरोको अध्ययन भई रोकथामको काम थालेका छौं ।’’ बाँकी पहिराको पनि चालु आर्थिक वर्षमा अध्ययन गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार रघुगंगा गाउँपालिका ३ गलेश्वर पारीको राघुघाट क्षेत्र, अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से खण्ड, जलथले खामभित्ता क्षेत्रको पहिरोको विस्तृत अध्ययन सम्पन्न गरी रोकथाम तथा संरक्षणको काम थालिएको छ । अहिले दुःख दिइरहेको रघुगङ्गा गाउँपालिका–२ बैंसरी खण्डमा भने नयाँ पहिरो भएको उहाँले बताउनुभयो । यो पहिरोको विस्तृत अध्ययन गर्ने योजना बनाएको जानकारी उहाँले दिनुभयो ।
आयोजनाका अनुसार रघुगंगा गाउँपालिका २ बैंसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका ३ मा पर्ने रुप्से झरनादेखि काभ्रेभिर क्षेत्रमा करिब पाँचसय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ । त्यस्तै सोही वडाको खाम भित्ता, गुइँठेभीर, लाटाखोलामा पनि वर्षेनी निरन्तर माथिबाट पहिरो झर्ने गरेको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका २ मा पर्ने नागढुङ्गा, भुरुङभीर, वडा नम्बर ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालिगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।
रघुगङ्गा गाउँपालिका वडा नम्बर १ बोगखोला, वडा नम्बर २ मासखर्क, कुनौटो, रिठाबोट, वडा नम्बर ३ मा पर्ने चमेरे र गलेश्वर पारी पहिरोको जोखिम छ । भूगर्भविदहरुले गरेको अध्ययन अनुसार कमजोर भूगोल रहेका गलेश्वर, खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षण विना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ ।