• २२ पुस २०८१, सोमबार

‘पार्टीलाई वडाकेन्द्रित गर्नूस्’

blog

काठमाडौँ, साउन २६ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण पार्टी पङ्क्तिलाई वडा स्तरमा केन्द्रित गर्न निर्देशन दिनुभएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पदाधिकारी बैठकमा उहाँले ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा केन्द्रित हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले पार्टीको तीनमहिने अभियानको आगामी भदौ १६ गते ७५३ स्थानीय तहका सबै वडामा एकैदिन अभियानको उद्घाटन गर्ने तयारी गर्नुभएको छ। 

पार्टी उपमहासचिव वर्षमान पुनका अनुसार पार्टी केन्द्रीय समिति बैठकको सर्कुलर तयारी र आगामी तीनमहिने अभियानका योजना निर्माणका विषयमा छलफल केन्द्रित भएको बताउनुभयो। उहाँले पार्टीका सबै केन्द्रीय सदस्यलाई वडामा केन्द्रित हुने गरी खटाउने तयारी भएको जानकारी दिनुभयो। केन्द्रीय समिति बैठकको सर्कुलर तयार भएपछि सबै नेता कार्यकर्ता सोहीबमोजिम कार्ययोजना बनाएर वडामा केन्द्रित हुने भएका हुन्। 

पार्टी सचिव देवेन्द्र पौडेलले पार्टी पङ्क्ति वडामा केन्द्रित हुने गरी खटाउन प्रधानमन्त्रीले निर्देशन दिएको बताउनुभयो। “पार्टी बनाउन लाग्नूस्, फिल्डमा खटिनूस्। सरकारका कामलाई पार्टीमा जोडेर जनतासम्म पु-याउनूस्,” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै पौडेलले भन्नुभयो, “जनवर्गीय सङ्गठनको सम्मेलन हुँदैन। सामान्य भेला र बैठकहरू हुन्छन्। सबै पार्टी वडामा केन्द्रित गर्ने गरी कार्य विभाजन गर्नुस् भन्ने छ।” 

प्रदेश इन्चार्जको फेरबदल भएलगत्तै गत सोमबार सबै प्रदेशका इन्चार्जले प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यलाई राखेर छलफल गराउनुभएको थियो। इन्चार्जले तीनमहिने अभियानका विषयमा कसरी कार्ययोजना बनाउने भन्ने विषयमा छलफल गरेका हुन्। यसलगत्तै सबै प्रदेशले आआफ्नो अनुकूलतामा प्रदेश बैठक राखेका छन्। आगामी भदौ १५ गतेको मुख्य डेटलाइन राखेर प्रदेश समितिहरूले बैठकको मिति तोकेका छन्।