• १२ वैशाख २०८१, बुधबार

नेपालको विविधता नै हाम्रो सम्पत्ति हो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आदिवासी जनजातिको कार्यक्रममा ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विविधता नै देशको सम्पत्ति भएको बताउनुभएको छ । नेपालमा राज्यतहबाटै अरूमाथि गरिने असमानता कलङ्क भएको उहाँको भनाइ छ । 

एमालेको जनवर्गीय सङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले २९ औँ विश्व आदिवासी दिवसका सन्दर्भमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले विविधता प्राकृतिक सरल र स्वाभाविक विषय भएको तर असमानता अन्याय रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “हरेक कुरामा विविधता हुन्छ । असमानता बेग्लै र विविधता बेग्लै विषय हो । विविधता सम्पत्ति र असमानता कलङ्क, अन्याय हो । विविधता प्राकृतिक, सरल, स्वाभाविक कुरा हो ।”

उहाँले देशका सबै जाति, जनजाति, आदिवासी, मधेसी, पहाडी, पछाडि परेका क्षेत्रले अगाडि बढ्ने अवसर पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोही अन्तर्राष्ट्रिय सम्पत्तिवान् मानेमा दर्ज हुने कोही खान, लाउनै नपाउने यस्तो हुनुहुँदैन । सबैको समान अधिकार हुनुपर्छ भन्ने मान्यता हामी राख्छौँ । जाति, जनजाति, आदिवासी, मधेसी, पहाडी, पूर्व, पश्चिम जहाँ सुकैको भए पनि सबैले उत्तिकै विकास, सुविधा, हकअधिकार, सुरक्षा र सम्मान पाउनुपर्छ ।”

उहाँले सामाजिक न्याय र समानता सिङ्गो समाजको विषय भएकाले यो आदिवासी जनजातिको मात्र नभएको भनाइ राख्नुभयो । नेपालमा समान अधिकार हुनुपर्ने तर यो साम्प्रदायिक सदभाव बिगार्ने, बिथोल्ने विषय बन्न नहुने उहाँको धारणा छ । 


उहाँले भन्नुभयो, “कसैलाई अपमान गर्ने, थिचोमिचो गर्ने भन्ने प्रश्न उठ्दैन । एमालेले समान हक, अधिकारका लागि र राष्ट्रिय एकताको पक्षमा उभिएको छ भने गर्व गर्नुपर्छ । जातका आधारमा भावनामा बगाएर द्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशलाई जोगाउन सकिँदैन ।”

उहाँले भन्नुभयो, “हामीले धर्मनिरपेक्ष किन भनेको भन्दा राज्य भनेको जातिविशेषको राज्य होइन, सम्पूर्ण नेपालीको राज्य हो । नस्ल, भूगोल, जातिविशेष होइन, सबै नेपालीको हो । सिङ्गो नेपाल, सिङ्गो नेपालीको राज्य हो । एउटा धर्मको राज्य, राष्ट्र भन्ने हुँदैन ।”