• १० मंसिर २०८१, सोमबार

माथिल्ला सरकारको नजर पर्न सकेको छैन

blog

मनाङको नार्पाभूमि गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र पालिका हो। कोन्जो तेन्जिङ लामा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट नार्पाभूमि गाउँपालिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। गाउँपालिकाको विकास र नागरिकको सेवामा अहोरात्र खट्ने जुझारु युवा नेतृत्वका रूपमा उहाँको पहिचान बनेको छ। उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ। विकट पालिका जहाँ पुग्न दुई दिन पैदल यात्रा गर्नु पर्छ। ‘सम्पन्न नार्पाभूमि : प्रसन्न नार्पा जाति’ भन्ने नारा बनाइएको छ। गाउँपालिकाले पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको विकासमा जोड दिइरहेको छ। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामासँग गोरखापत्रका पत्रकार यदुप्रसाद भट्टले गरेको कुराकानी :  


चीनसँग सिमाना जोडिएको विकट पालिकाको नेतृत्व गर्नुभएको छ। यहाँको विकास कसरी अगाडि बढाइरहनुभएको छ ? 

नार्पाभूमि विकट भएर होला सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन। वास्तवमा भन्नुपर्दा नार्पाभूमि राज्यविहीनताको अवस्थामा छ। सरकारले यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई वास्ता नगरेकाले पिछडिएका हुन्। अहिले पनि सरकारले आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा पालिकाले आफैँ एक्साभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालमा जोड्ने प्रयास गरिरहेका छौँ। हालसम्म १४ किलोमिटर जति बाटो खन्ने काम भइसकेको छ। सडक सञ्जालबिना अन्य विकासका काम असम्भव हुने हुँदा हामीले बजेट विनियोजन गरेर पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने प्रयास गरिरहेका छौँ। पालिकाको केन्द्र च्याँखुसम्म जिल्ला सदरमुकामबाट २६ किलोमिटरको दुरी छ। पहिला गाउँपालिकामा कुनै पनि भौतिक पूर्वाधार थिएन। उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँचको अवस्था छैन। हामीले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्ट खडा गरिसकेका छौँ। यसैलाई विकास मान्नुपर्ने अवस्था छ। 

पर्यटन र जडीबुटीको व्यवस्थापन र प्रवर्धन गरिरहनुभएको हो ? 

हामीले जडीबुटीका लागि व्यावसायिक रूपमै खेती गर्ने योजना बनाएका छौँ। मनाङमा यार्सागुम्बा पनि प्रशस्त पाइन्छ। निश्चित समयमा नार्पाभूमिका स्थानीयलाई मात्रै यार्सा सङ्कलन गर्न दिने हो भने स्थानीयको आर्थिकस्तर वृद्धि हुन्थ्यो तर यसो गर्न सकिएको छैन। मनाङको जिम्बुलाई देशविदेशमा चिनाउन लागिपरेका छौँ। पर्यटनको सन्दर्भमा नार्पाभूमिको ‘भिलेज प्रोफाइल’ तयार भएको छ। विभिन्न च्यानलमार्फत यसको प्रचारप्रसार गर्ने काम भइरहेको छ। नार्पा टुरिजम डटकम अनलाइन पोर्टलमार्फत पनि प्रचारप्रसार गरिरहेका छौँ। यहाँ भएका नार्फु ट्रेयल, (सेभेन पास ट्रेयल), नार गाउँ, फु गाउँ, सत्य गुम्बा, काङ्ला पास, टासिलाकाङ गुम्बा र काङ्ला पोखरी आदि पर्यटकीय तथा धार्मिक स्थानको प्रचारप्रसार गरिरहेका छौँ। नार्पाभूमि गाउँपालिकालाई नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने सोच बनाएका छौँ। यो सोचलाई मूर्त रूप दिन हामी स्थानीयलाई सँगसँगै लिएर अघि बढ्ने छौँ।  

जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुभयो ?

जनताले खोज्ने भनेकै सुशासन हो। कार्यालय र कर्मचारीको व्यवस्थापन एक जटिल समस्या बनेको छ। निमित्तका भरमा मात्रै गाउँपालिका कार्यालय चलाउनु परेको छ। प्रदेशले प्रमुख प्रशासकीय अधिकृत दिएको छैन। अन्य जिल्लामा जस्तो धेरै जनसङ्ख्या मनाङमा छैन। त्यसमा पनि नार्पाभूमिमा सबैभन्दा कम जनसङ्ख्या छ। सेवाग्राही थोरै मात्र हुने भएकाले कर्मचारीलाई काम गर्न सजिलो छ। कर्मचारी आवास गृह तथा गाउँपालिका भवन सञ्चालनमा आएको छ। जसले गर्दा सेवाग्राहीलाई सेवा दिन सजिलो भएको छ। हामीले ‘व्यवस्थित बस्ती विकास’ कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यसबाहेक हामीले घुम्ती शिविर राखेर पनि सेवा प्रवाह गरिरहेका छौँ। शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अन्य विकासका पूर्वाधारका क्षेत्रमा हामी काम गर्दै छौँ। 

 गाउँ चीनको स्वशासित क्षेत्र तिब्बतनजिक पर्छ, यहाँको सीमा र संस्कृति जोगाउन तपाईंको भूमिका कस्तो रहेको छ ? 

पहिलो कुरा के हो भने फु गाउँ चीनसँगको अन्तर्राष्ट्रिय सीमा हो। अहिलेसम्म हामीले त्यहाँ सीमास्तम्भ देखेका छैनौँ। सीमास्तम्भ नभए पनि शान्ति सुरक्षामा खलल आएको भने छैन। नार्पाभूमिलाई सुरक्षित राख्न फु गाउँमा बोर्डर आउट पोस्ट (बिओपी) राख्नेबारे छलफल भइरहेको छ। यसका लागि आवश्यक पर्ने पूर्वाधार र सातदेखि १० रोपनी जमिनको खोजी भइरहेको छ। सर्वदलीय छलफलबाट बिओपी राख्ने सहमति भइसकेको छ। हामीले गृह मन्त्रालय र गृहमन्त्रीसँग पनि यस विषयमा जानकारी गराएर छलफल गरेका छौँ। केही बिग्रनुभन्दा पहिले नै सीमास्तम्भ स्थापना गर्नु पर्छ। अन्तर्राष्ट्रिय सिमाना सुरक्षित गर्नु पर्छ भन्ने योजना छ। हामी त्यही योजना अनुसार चलिरहेका पनि छौँ। यसमा राज्यको पनि ध्यान जानु जरुरी छ। म मेरो संस्कृति र सीमा रक्षामा प्रतिबद्ध छु र रहिरहने पनि छु। 

स्वास्थ्य क्षेत्रको अवस्था सुधारको प्रयास भइरहेको छ ?  

भौगोलिक विकटताले गर्दा यहाँ कोहीलाई जटिल स्वास्थ्य समस्या आयो भने हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन। सामान्य स्वास्थ्य समस्यालाई यहाँका स्वास्थ्य चौकीमा नै औषधी उपचार हुने गरेको छ। पर्यटकले जथाभाबी फोहोर फाल्दा नदी फोहोर भएको तितो अनुभव हामीसँग छ। हामी नदी सफा गर्नेतिर पनि लागेका छौँ। यसका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्छ भनेर विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ।