• १९ असार २०८१, बुधबार

कपनमा बाढी नियन्त्रणको दीर्घकालीन समाधान खोजिने

blog

काठमाडौँ, साउन २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँको बूढानीलकण्ठको कपन, सामाखुसी, कलङ्कीसहित जलाधार बढ्दा बाढीको समस्या उत्पन्न हुने क्षेत्रमा तत्कालीन र दीर्घकालीन समाधान खोजिने बताउनुभएको छ। 

सञ्चार मन्त्रालयमा बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले काठमाडौँ उपत्यकामा देखिएको बाढीको समस्या समाधान गर्न आवश्यक कदम चालिने बताउनुभएको हो। उहाँले काठमाडौँकै कपन, सामाखुसी, कलङ्कीको मालपोत कार्यालय डुबानमा परेको घटना स्मरण गर्दै प्रकृतिमाथि भइरहेको छेडखानीप्रति सजग हुनुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “यो गम्भीर विषय हो। हामीले प्रकृतिलाई छेडखानी ग-यौँ कि भन्ने पनि लाग्छ। बाटो साँघुरो बनाउने, खाली कतै नराख्ने, घर बनाइहाल्नुपर्ने। त्यसैले घर खोलामा गयो कि खोला घरमा गयो भनेजस्तो स्थिति छ। यसको समाधान खोज्न सरकार गम्भीर छ।” उहाँले विकास निर्माण गर्दा समग्र पक्षमा ध्यान दिनुपर्ने बताउँदै तत्काल समाधानका लागि सरकारले गृहकार्य गर्ने र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने बताउनुभयो। 

‘सुन काण्डको अनुसन्धान हुँदै छ’

सञ्चारमन्त्री शर्माले राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरेको १५५ किलो सुन र ब्रेकसुका सन्दर्भमा अनुसन्धान भइरहेको बताउनुभयो। उहाँले अभियुक्त पक्राउ परेको र विभागको अनुसन्धानपछि अब नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्य्रोले अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो।  उहाँले यसको अनुसन्धानका लागि कुनै आयोग वा समिति गठन आवश्यक नरहेको सरकारको भनाइ रहेको प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “संसद् खुलेको छैन। 

मङ्गलबार सबै पार्टी प्रतिनिधि बोल्ने, गृहमन्त्रीले जवाफ दिने सहमति भयो। तर प्रमुख प्रतिपक्षी दलले पहिले उच्च छानबिन समितिको माग गरेको थियो, पछिल्लो समय उच्चस्तरीय आयोगको माग छ। सरकारको धारणा प्रस्ट छ। सम्बन्धित निकायले अनुसन्धान गरिरहँदा यसलाई विषयान्तर गर्नुहुँदैन।”

यसैबिच सञ्चारमन्त्री शर्माले घरपालुवा जनावरमा देखिएको लम्पी स्किन महामारी न्युनीकरण गर्न सरकारले दृढ रूपमा काम गरिरहेको बताउनुभयो। उहाँले कृषि मन्त्रालयले किसानलाई राहत दिने र रोग नियन्त्रण गर्ने गरी काम अघि बढाएको बताउनुभयो।