काठमाडौं, साउन २४ गते। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले नेकपा (माओवादी केन्द्र) को भदौ १६ गतेदेखि सुरु हुने तीन महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो। उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी-विशेष रूपान्तरण अभियान’ सुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनुभयो। उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरूले समेत वडा जिम्मा लिने भन्दै सबै नेता परीक्षामा सामेल हुने बताउनुभयो। उहाँले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्ड प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ठिक ढङ्गले अनुसन्धान गर्नका लागि सिआइबीलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो। उहाँले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडि बढ्ने स्पष्ट पार्नुभयो। तथ्य र प्रमाणले दोषी देखिएकालाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रवक्ता सापकोटाले जनता महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताउनुभयो। उहाँले बजार अनुगमन गरी बदमासी गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनताले खेप्नु परेको महँगीको मारको सम्बन्धमा पार्टीको आगामी पदाधिकारी बैठकमा आफूले कुरा उठाउने पनि बताउनुभयो।
उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पुर्याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने उहाँले बताउनुभयो।