• ३० वैशाख २०८२, मङ्गलबार

सामुदायिक वनभित्र फलफूल खेती, सदस्यहरूलाई आम्दानी

blog

बाँकेको कोहलपुर नगरपालिकामा रहेको सिर्जना सामुदायिक वन समूहका सदस्यलाई उत्पादित कागती दामाशाहीले वितरण गरिदैँ । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन २४ गते । बाँकेको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले फलफूल उत्पादनलाई आम्दानीको स्रोत बनाएको छ । 

अन्य सामुदायिक वनहरू काठ दाउरामा निर्भर भइरहँदा सिर्जना सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा फुलफूका बिरुवा रोप्ने र त्यसको उत्पादन सदस्यलाई दामासाहीले वितरण गर्दैआएको छ ।

समूहका अध्यक्ष सुमन पौडेलले करिब ६० हेक्टर वन क्षेत्र रहेकोमा १० हेक्टरभन्दा बढीमा कागती र फलफूल रोपिएको जानकारी दिनुभयो । समूहमा १३७ घर परिवार आबद्ध रहेका छन् । 

अध्यक्ष पौडेलले भन्नुभयो, ‘वन क्षेत्रबाट हुने उत्पादन सदस्यलाई दामासाहीले बराबर वितरण गर्ने गरिएको छ । यसबाट समूहका सदस्यहरूको आयआर्जनमा वृद्धि हुने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।’

वनक्षेत्रमा दुई दशकअघि रोपिएका कागतीले उत्पादन दिइरहेका छन् । केही दिनअघि प्रतिपरिवार १० किलोको दरले उपभोक्तालाई वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । यसैगरी आँप समेत प्रतिपरिवार १० किलोको दरले उपलब्ध गराइएको उहाँको भनाइ छ । 

सामुदायिक वनभित्र प्राकृतिक रूपमा उम्रिएका रुख, बुट्यान बाहेक कागती, सुन कागती, आँप, कटहर, अम्ला, अम्बालगायतका फलफूलका बिरुवा रोपिएको छ । तीमध्ये केहीले उत्पादन समेत दिन थालेका छन् । समूहले तीन वर्षअघि रोपिएका चार हजार कागतीका बिरुवाले उत्पादन दिएपछि समूहका सदस्यले राम्रो आम्दानी हुने विश्वास गरेका छन् । सामूहिक केराखेती समेत गरिएको छ ।

विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि वन समूहले बालज्योती माध्यमिक विद्यालय कोहलपुरलाई रैथाने जातका बिरुवा रोप्न वन क्षेत्रको जग्गा समेत उपलब्ध गराएको छ । वन समूहले पर्यटकीय क्षेत्रमा समेत योगदान दिदैँआएको अध्यक्ष पौडेलले बताउनुभयो ।