काठमाडौँ, साउन २४ गते । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । मङ्गलबारको प्रारम्भिक बैठकले श्रेष्ठको सुनुवाइ प्रक्रिया थालनी गर्दै उजुरी आह्वानको निर्णय गरेको छ । उजुरीका लागि समितिले १० दिनको समय दिएको छ ।
नेकपा (एमाले) संसदीय दलका सचेतक एवं समिति सदस्य महेश बर्तौलाले सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरिएको जानकारी दिनुभयो । उजुरीको समय सकिएपछि समितिले सुनुवाइका बाँकी प्रक्रिया अघि बढाउने छ ।
समितिले आह्वान गरे अनुसार सर्वसाधारण र सरोकारवालाले अब श्रेष्ठविरुद्ध बिहीबारदेखि उजुरी दिन सक्ने छन् । समितिमा स्वयम् उपस्थित भएर तथा इमेलबाट पनि उजुरी दिन सकिने छ । प्रधान न्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइका लागि आइतबार संसद्मा पत्राचार भएको थियो ।
समितिमा उजुरी प्राप्त भएमा पहिले उजुरीकर्तासँग छलफल गरिने छ । समितिले आवश्यकताका आधारमा उपसमितिसमेत बनाएर छलफल गर्न सक्ने व्यवस्था छ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने छ ।
सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ । ४५ दिनभित्र निर्णय नभएमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था नियमावलीमा छ । ४५ दिनको समयसीमा प्रारम्भिक बैठकबाट सुरु हुने छ । समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा प्रस्तावित पदाधिकारी अनुमोदित हुने व्यवस्था नियमावलीमा छ ।
साउन १९ गते परिषद्ले प्रधान न्यायाधीशमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । वरिष्ठताका आधारमा श्रेष्ठ प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको थियो ।