• २० वैशाख २०८१, बिहिबार

प्रहरी रिपोर्ट अब अनलाइनबाटै

blog

काठमाडौँ, साउन २४ गते ।  प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । 

अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको नियमनमा अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्दै आएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाशले सेवाग्राहीलाई सहज रूपमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवा दिन अनलाइन सेवा प्रभावकारी हुने बताउनुभयो । मन्त्री साउदले भन्नुभयो, “अनलाइन सेवाले कन्सुलर विभागमा सेवाग्राहीले भोग्नु परेको झन्झटको अन्त्य हुनुका साथै समयसमेत बचत हुने छ ।” यो  सेवाको विस्तार अन्य विभाग र मन्त्रालयमा समेत आरम्भ गर्न सरकारले विशेष प्राथमिकताका साथ काम अघि बढाउने भएको छ ।

उहाँले विभागमार्फत प्रदान हुने सेवा छिटोछरितो बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि मन्त्री साउदले राहदानी विभागका काम थप पारदर्शी बनाउन र सेवाग्राहीलाई सहजताका साथ सेवा दिन प्रहरी चारित्रिक प्रमाणत्र अनलाइनबाटै प्रमाणीकरण व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भएपछि अनलाइन सेवा पूर्ण रूपमा सञ्चालन हुने जानकारी दिनुभयो । नेपाली नागरिकलाई राहदानी लिँदा, वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

अनलाइनमार्फत सेवा लिनका लागि स्वदेशमा भएका नागरिकले राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वैवाहिकका हकमा विवाह दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको रङ्गिन फोटो एक थान आफ्नो निवेदनसँगै अनलाइनमार्फत पेस गर्नुपर्ने छ । 

त्यस्तै विदेशमा रहेका नागरिकका हकमा राहदानीको पृष्ठ २, ३ र ३१ को प्रतिलिपि, अन्तिम पटक नेपाल छाड्दाको नेपाल अध्यागमन विभागले दिएको अनुमतिपत्रको प्रतिलिपि, नागरिकताका प्रतिलिपि, विवाहितका हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, र पासपोर्ट साइजको रङ्गिन फोटो अनलाइन निदेवनका साथ पेस गर्नुपर्ने छ । कागजतका हिसाबमा खासै फरबदल नभए पनि सरल र सहज सेवा दिन अनलाइनमार्फत प्रभावकारी हुने विश्वास कन्सुलर विभागले गरेको छ । 

विभागका अनुसार हरेक दिन करिब एक हजार पाँच सय जनाले यो प्रमाणपत्र लाइन लागेर लिँदै आएका थिए । अनलाइन भेरिफिकेसनपछि आउने प्रमाणपत्रलाई सेवाग्राहीले आफ्नो सुविधा अनुसार रङ्गिन प्रिन्ट लिन सक्ने छन् । यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण लिन घण्टौँसम्म लाइनमा लागेर प्रमाणपत्र लिनु पर्दा नागरिकले सास्ती बेहोर्नुपर्ने झन्झटका साथै बिचौलियाले छिटो काम गराइदिन्छु भन्दै प्रमाणपत्रका लागि रकम असुल गरेको गुनासो थियो ।