• ११ पुस २०८१, बिहिबार

छानबिन समिति बनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराई

काठमाडौं, साउन २३ गते । नेकपा(एमाले) का सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राख्नुभएको छ । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताउनुभएको छ । उहाँले छानबिन समिति बनाउने र नबनाउने पक्षमा कुरा आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न उहाँले प्रस्ताव गर्नुभयो । 

समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने बताउनुभयो । उहाँले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानबिन समिति बनाउनु आवश्यक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कुनै कानुनी अड्चन छन् कि ? नयाँ कानुनी प्रबन्ध हामीले मिलाउनुपर्ने छ कि ? यस विषयमा के राजस्व अनुसन्धानले हामीलाई केही सिफारिस गर्न सक्छ ? के हाम्रो नेपाल प्रहरीको सिआइबीले केही छानबिन अगाडि बढाउनसक्छ यस विषयमा । म प्रश्न गर्न चाहन्छु, सिआइबीले ३ महिना अगाडि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल अझै गृहमन्त्रीजीको टेबलमा छ र अगाडि बढ्दैन भने अनि राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर आज फेरि सिआइबीलाई फाइल बुझाएको छ । त्यसको मतलव त्यहाँ बिचमा के खेल भइरहेको छ ? म गृहमन्त्रीजीलाई भन्न चाहान्छु, गृहमन्त्रीजी तपाई पोलिटिकल कमिसार, तपाइको फिल्ड कमिसार को छ ? तपाईको आदेश फिल्ड कमिसारले मानेको छैन कि, फिल्ड कमिसारको सूचना तपाईले भेरिफाइ गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्रीजीसँग पनि बयान कसले लिन्छ ? मेरो प्रस्ताव छ, यदी यसमा छानबिन समिति बनाउन हामी कोही सहमत छौँ , कोही सहमत छैनौँ भने कुनै पनि पार्टीले ह्वीप नलगाऔँ । म प्रस्ताव राख्छु सभामुखले भोटिङ गराउनुस् यो संसदले छानबिन समिति बनाउनु हुन्न रहेछ भन्यो भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुन्छ । म चुनौतीका साथ भन्छु ।’’

छानबिन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।