• ७ जेठ २०८१, सोमबार

लघु, घरेलु तथा साना उद्योग बचाउने सरकारको दायित्व

blog

काठमाडौँ, साउन २३ गते । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग सङ्घको रजत जयन्तीको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा महर्जनले आर्थिक मन्दीको चपेटा परेको लघु, घरेलु तथा साना उद्योगलाई संरक्षण गर्नुपर्ने बताउनुभएको हो । 

साना उद्योगलाई प्रवर्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री महर्जनले यस्ता उद्योगलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो ।

साना उद्योगलाई दिगो बनाउने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै उहाँले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

लघु, घरेलु तथा साना उद्योग बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको क्षेत्रका रूपमा रहेको बताउँदै उहाँले यस क्षेत्रलाई गर्नुपर्ने सहयोग पहिलो प्राथमिकतामा रहेको धारणा राख्नुभएको छ । 

कार्यक्रमका नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताउनुभयो ।

मौद्रिक नीतिमा समेत लघु, घरेलु तथा साना उद्योगका विषय नसमेटिएको भन्दै उहाँले बैङ्कको दबाबले गर्दा उद्योगी उद्योग छाडेर हिँड्ने अवस्थामा पुगेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैङ्कहरूले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइँदा जटिल अवस्था सिर्जना भएको बताउनुभयो । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय राम्रोसँग चल्न नसकेको उहाँको भनाइ छ । 

घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँका अध्यक्ष पदमकुमारी कार्कीले देशकै अर्थतन्त्रको जगका रूपमा रहेका साना उद्योगका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसको उपभोग गर्न सरोकारवाला व्यवसायी वञ्चित भएको गुनासो गर्नुभयो । ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने स्लोगनलाई महासङ्घका जिल्ला र पालिकास्तरबाट अभियानकै रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।