• २० असोज २०८१, आइतबार

अलैँचीको मूल्यमा सुधार

blog

हिले समाचारदाता 

हिले, साउन २३ गते । अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन (४० केजी) को ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्षयताकै उच्च हो । २०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजारबाट ओरालो लागेको अलैँचीको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको र त्यसयता भने अलि अलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । आउँदो वर्ष उत्पादन कम हुन सक्ने डरले ठुला व्यापारीले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको उहाँको भनाइ छ । 

गत वर्ष ४९ हजार रुपियाँ प्रतिमनसम्म पुगेको थियो तर मूल्य स्थिर रहन सकेन । मूल्य बढे पनि कृषक भने खुसी छैनन् । कृषकसँग उत्पादन सकिएको र नयाँ उत्पादन आउने समयसम्ममा मूल्य घटिसक्ने कृषकको बुझाइ छ । “गत वर्ष पनि ४९ हजार रुपियाँ प्रतिमनसम्म पुगेको थियो तर कृषकको उत्पादन सुरु भएसँगै घटेर २५ हजारमा झ-यो, यो वर्ष पनि उत्पादन हुँदा पुरानै दाममा झर्छ,” पाख्रीबास नगरपालिका–२ का अलैँची कृषक निर्मल स्याङ्देन बताउनुहुन्छ । 

उत्पादनमा कमी हुने आकलनकै कारण मूल्य बढेको हुन सक्ने अनुमान कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अलैँचीको बजार भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका सूचना अधिकारी सुरज खनाल बताउनुहुन्छ । “मूल्य बढे पनि स्थिर रहन्छ/रहँदैन, त्यो चाहिँ महत्वपूर्ण कुरो हो,” खनाल भन्नुहुन्छ । अलैँचीको नयाँ उत्पादन असोजको पहिलो साताबाट सुरु हुन्छ । धनकुटामा करिब चार दशकयता अलैँचीको खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८९/८० मा ११२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । चार दशकको अवधिमा आव २०७४/७५ मा सबैभन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आव २०७४/७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । त्यसयता भने अलैँचीको उत्पादन निरन्तर ओरालो लाग्दो छ ।