भक्तपुर, साउन २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाटै गर्न सकिने बताउनुभएको छ। प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा आयोजना गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।
“न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दै छ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसात् गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला,” उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला। त्यसतर्फ सोचौँ।”
मन्त्री शर्माले सञ्चारमाध्यमले समाजको सकारात्मक पक्ष उजागर गर्न आवश्यक रहेको बताउनुभयो। “एउटा पत्रकारले बदमासी ग-यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी ग-यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी ग-यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ। हामी अलि बढी नकारात्मक समाचारमा रमाउन थालेका छौँ। नकारात्मक मात्रै छ कि जस्तो भयो। समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ,” उहाँले भन्नुभयो।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझाव अनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताउनुभयो। “हामीले के गरिरहेका छौँ ? पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्नेजस्ता विषयमा पनि प्रस्ट सुझाव आओस्,” उहाँले भन्नुभयो। कार्यक्रममा न्यु मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यु मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो। उहाँले न्यु मिडियालाई पत्रकार आचारसंहिता र मूल्यमान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो।