• २ पुस २०८१, मङ्गलबार

गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम

blog

काठमाडौँ, साउन २३ गते । दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । 

सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ । 

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै साउन १० देखि एमालेले सङ्घीय संसद्का दुवै सदनको कामकारबाहीमा अवरोध पु-याइरहेको छ । करिब दुई सातासम्म पनि सत्तापक्ष र प्रतिपक्ष संवाद नभएपछि सभामुख घिमिरेले सोमबार छलफल आह्वान गर्नुभएको थियो ।

छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन सञ्चालनमा सबै दलबिच सैद्धान्तिक सहमति भए पनि केही छलफल आवश्यक भएको बताउनुभयो । सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्रीले भन्नुभयो, “सदन सञ्चालन गर्नुपर्नेमा सबैको सैद्धान्तिक सहमति नै छ । तर केही छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने छ । चाँडै गतिरोध अन्त्य हुन्छ ।” 

छलफलमा दलीय अडान यथावत् रहेका छन् । एमालेले सदनको गतिरोध अन्त्यका लागि समिति गठनलाई नै बटमलाइन बनाएको छ । तर सत्तापक्षले सुन प्रकरणमा प्रहरीले अनुसन्धान प्रक्रिया थालिसकेकाले उक्त मागबाट पछि हट्न प्रतिपक्षलाई आग्रह गरेको थियो । छलफलमा प्रधानमन्त्रीले समिति गठनको मागबाट पछि हट्न एमालेलाई आग्रह गर्नुभएको थियो । 

“सुन प्रकरणको अनुसन्धान भइरहेको र यसमा प्रहरीले ‘टेकओभर’ गरेको विषयमा पनि चर्चा भयो । प्रधानमन्त्रीज्यूले अहिलेको अवस्थामा उच्चस्तरीय समितिको मागबाट पछि हट्न पनि उहाँले आग्रह गर्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भन्नुभयो, “तर हामीले समिति गठनबाट पछि हट्न नसकिने जवाफ उहाँलाई दिएका छौँ । सदनको गतिरोध कसरी अघि बढ्छ भन्नेमा सत्तापक्ष नै जिम्मेवार छ ।”

शीर्ष नेताबिचको परामर्शमा संसदीय समिति सभापति चयनका विषयमा भने सकारात्मक भएको छ । यसअघि वैशाखमा भएको सहमति अनुसार नै समितिको भागबन्डा मिलाएर चाँडै सभापति चयन गर्ने साझा निष्कर्ष दलहरूको छ । 

मङ्गलबार प्रतिनिधि सभाको गतिरोध अन्त्यको सहमति भएमा विषयगत समितिमा केही सदस्य हेरफेर हुने छन् । सदस्य हेरफेरपछि सभामुखले सभापति चयनको मिति तोक्ने तयारी पनि छ । 

यस्तै बैठकमा सभामुख घिमिरले सधैँ सूचना टाँसेर बैठक रोक्ने पक्षमा आफू नरहेकाले चाँडो निष्कर्षमा पुग्न दलहरूलाई आग्रह गर्नुभएको छ । बैठकमा घिमिरेले भन्नुभयो, “मैले अधिकतम रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरूबिच आपसी विश्वास, एकता र सहकार्यका पक्षमा उभिँदै आएको छु । यही अनुरूप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन ।”