• २० असोज २०८१, आइतबार

बन्दले जनजीवनमा आंशिक प्रभाव

blog

बन्द आह्वानले शान्त देखिएको जनजीवन । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), साउन २२ गते । कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण इलामको जनजीवन आज बिहानैबाट आंशिक रुपले प्रभावित भएको छ । 

लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दलाई कोशी प्रदेश नामाङ्कनको विरोधमा रहेका विभिन्न किराँत लिम्बुवान समूहको आह्वानमा घोषणा गरिएको बन्दले इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो । 

बन्दका कारण मेची राजमार्गको इलाम, पाँचथर, ताप्लेजुड र झापामा सञ्चालन हुने यातायतका साधन सञ्चालन हुन सकेका छैनन् । बन्दको प्रभाव आंशिक रुपमा बजार, पसल, कलकारखाना, विद्यालयमा समेत परेको छ । अधिकांश निजी विद्यालय बन्द भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले पहिचानवादीका माग सम्बोधन नभएकाले बन्द गर्नुपरेको बताउनुभयो ।  

बन्दकर्ताले कोशी प्रदेशको नाम किरात लिम्बुवान राख्न माग गरेका छन् ।लामो समयदेखि आन्दोलन गर्दैआएका बन्दकर्ताले कोशी नाम परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।