• १२ असार २०८१, बुधबार

पाल्पामा आँखा पाक्ने रोगको बढ्दो सङ्क्रमण

blog

आँखा अस्पतालमा आँखा उपचार गरिदै । तस्बिर : इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), साउन २२ गते । दुई हप्तादेखि पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दैगएको छ । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दैगएको जनाएको छ । 

पाल्पा लायन्स लाकौल आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुचन पुनले अस्पतालमा एक सयभन्दा बढी बिरामी अस्पताल आउनेगरेको जानकारी दिनुभयो । उहाँका अनुसार आँखा पाक्ने समस्याको उपचारका लागि विद्यालयमा अध्ययनरत बालबालिका, युवा तथा प्रौढहरू बढी आउने गरेको छ । उहाँले भन्नुभयो, “भिडभाड हुने स्थानबाट भाइरसको सङ्क्रमण छिटो फैलिने भएकाले ज्येष्ठ नागरिकभन्दा बालबालिका, युवा तथा प्रौढ समूहमा सङ्क्रमण बढी देखिएको छ ।” 

बिरामीहरू बढ्न थालेपछि अन्य बिरामीलाई नसरोस् भनेर छुट्टै ‘रेड आई क्लिनिक’ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक २५ जनाभन्दा बढी आँखा पाक्ने समस्याका बिरामी आउनेगरेको केन्द्रका प्रमुख सुन्दर रानाले बताउनुभयो । 

दुई हप्तादेखि आँखा पाक्ने समस्या भएका बिरामीहरू आउनेगरेको जानकारी दिनुभयो । सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेजस्ता लक्षण देखिने डा. पुनले बताउनुभयो । ‘एडिनो भाइरस’ सङ्क्रमण निश्चित समयसम्म रहने भए पनि केहीलाई भने जटिल बनेर आँखाको नानीमा समेत असर गर्न सक्ने भएकाले लक्षण देखिएमा तुरुन्त आँखा अस्पतालमा परीक्षण गराउन आग्रह गर्नुभयो । 

रोगबाट बच्न आँखाबाट निस्किने आँसु, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा सङ्क्रमण सर्नसक्ने भएकाले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले हात धुन उहाँको सुझाव छ । बिरामीको आँखालाई सिधा आँखाले नहेर्न, सङ्क्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न नदिन, सरसफाइमा ख्याल गर्न अनुरोध गर्नुभयो ।