• १४ मंसिर २०८१, शुक्रबार

जङ्गलभित्र कालिजपालन र होमस्टे

blog

खोटाङ समाचारदाता

खोटाङ, साउन २२ गते । कालिज भन्नेबित्तिकै हाम्रो दिमागमा कुनै जङ्गल आउँछ । त्यो स्वाभाविक पनि हो किनकि हामीले कालिज प्रायः जङ्गलमा देखेका छौँ तर पछिल्लो समय व्यावसायिक रूपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तलेमा विगत दुई वर्षदेखि कालिजपालन सुरु भएको हो । 

सुन्तलेका चन्द्रमणि राईको परिवारले यति बेला व्यावसायिक रूपमा कालिजपालन गरिरहेको छ । पहिले खेती हुने जग्गामा काम गर्ने मान्छेको अभावले बिस्तारै जङ्गलमा परिणत भयो । अहिले त्यही जङ्गलभित्र कालिजपालन र होमस्टे सञ्चालन भइरहेको छ । 

सुन्तलेको हर्रेचुङ डाँडामा रहेको आफ्नो नम्बरी जग्गामा चन्द्रमणिले होमस्टे सञ्चालन गर्ने अनि पाहुनालाई अर्गानिक खाना खुवाउने सोच बनाएको बताउनुहुन्छ । सोही समयमा जापानमा रहेका उहाँको छोरा मुकेश राई पनि गाउँमै उद्यमी बन्ने सपना लिएर नेपाल फर्कनुभयो । त्यसपछि सोही ठाउँमा कालिज पाल्ने अनि होमस्टे पनि सञ्चालन गर्ने बुवाछोराको सपना यति बेला साकार भएको छ । 

जङ्गलको बिचमा कालिजका लागि तारजाली बारेर पहिलो वर्ष २०७८ सालमा पोखराबाट छ सय कालिजका चल्ला ल्याएर लगाएको चन्द्रमणि बताउनुहुन्छ । त्यसपछि कालिजका चल्ला हुर्कंदै गए, होमस्टे पनि तयार हुँदै गयो । 

वराहपोखरी–धाप्लाङ–गाईघाट सडकको यात्रा गर्ने जोकोही अहिले सुन्दलेको हर्रेचुङ डाँडामा पुगेपछि पकै एक छिन रोकिन्छ । सबैको नजर जङ्गलबिचमा रहेको काठको एउटा चिटिक्कको घरमा ठोकिन्छ । 

होमस्टेमा आउने पाहुनालाई अर्गानिक कोदोको ढिँडो र कालिजको मासु खुवाउने योजनाका साथ लागिपरेका राई पहिलो वर्ष होमस्टे निर्माण पूरा नभएपछि कालिज बिक्री गरेको बताउनुहुन्छ । भाले कालिज दुई हजार आठ सयसम्म र पोथी कालिज दुई हजार पाँच सयसम्ममा बिक्री गरेको उहाँको भनाइ छ । त्यसपछि अर्को वर्ष भने आफैँले चल्ला उत्पादन गरेर लगाएको चन्द्रमणि बताउनुहुन्छ । 

अहिले होमस्टेमा पाहुना फाट्टफुट्ट आउने गरेका छन् । अझै पनि होमस्टेको पूरै व्यवस्थापन भइसकेको छैन । अहिले दुई रोपनी क्षेत्रफलमा कालिजपालन गरिएको छ । आफ्नो नाममा रहेको पूरै आठ रोपनी क्षेत्रफलमा व्यवसाय गर्ने सोच बुवाछोरामा छ । कालिज पाल्ने, माछा पाल्ने अनि होमस्टे चलाउने । 

मानिसलाई एक/दुई दिनसम्म पारिवारिक रूपले बसेर समय कटाउने ठाउँ अनि प्रकृतिको अवलोकन गर्न र आनन्द लिँदै अर्गानिक खाना खाने ठाउँ बनाउने उहाँहरूको सोच रहेको छ । अहिले युवाशक्ति विदेश जाने अनि गाउँको जग्गा बाँझो बन्ने छ नेपालको अवस्था । त्यसैले ती युवालाई स्वदेश फर्किएर आफ्नै माटोमा पसिना बगाउन सिकाउने योजना रहेको मुकेश बताउनुहुन्छ । त्यही सोचले आफू पनि जापान छाडेर नेपाल आएको उहाँको भनाइ छ । 

हालसम्म कालिजपालन र होमस्टे निर्माणमा करिब ८० लाख लगानी भइसकेको छ । सरकार वा सङ्घ संस्था कतैबाट पनि अनुदान नलिएको चन्द्रमणिको भनाइ छ । धेरैले अनुदान लिन सुझाव दिए पनि आफूहरूको ध्यान त्यता नगएको उहाँ बताउनुहुन्छ । “सबैले अनुदान लिनु यस्तोमा पाइन्छ भन्छन् तर हामी त्यतातिर लागेनौँ । किनकि नेपालमा अनुदान दिँदा उनीहरूले मागे जति प्रतिशत फिर्ता गर्नु पर्छ, अब हामी त्यस्तो गर्न सक्दैनौँ,” चन्द्रमणि भन्नुहुन्छ, “त्यसैले अनुदानतिर चासो हाम्रो छैन ।” अहिले लगानी गरिरहेका राई बुवाछोरा बिस्तारै नाफामा जाने योजनाका साथ लागिपरेका छन् ।