काठमाडौँ, साउन २२ गते । मुलुकबाट झन्डै साढे तीन अर्बभन्दा बढी रुपियाँ बराबरको कुकुर र बिरालोको खाना (क्याट फुड र डग फुड) निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपियाँको कुकुर र बिरालोको खाना निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले निर्यात बढी हो । आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपियाँ निर्यात भएको छ ।
दुधबाट बनेका कुकुर र बिरालोको आहार पूर्वी जिल्लाबाट निर्यात हुने गर्छ । गत आवमा सबैभन्दा धेरै कुकुर र बिरालोको खाना अमेरिकामा दुई अर्ब ९६ करोड ७६ लाख २६ हजार रुपियाँ बराबरको १५ लाख तीन हजार २९५ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा अमेरिकामा २१ प्रतिशतले निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
यस्तै क्यानडामा २९ करोड ४२ लाख ३५ हजार रुपियाँको ४४ हजार ५३२ किलो कुकुर र बिरालोको खाना निर्यात भएको छ । यस्तै जापानमा ३९ करोड ३५ लाख छ हजार रुपियाँको १७ हजार १७९ किलो निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा जापानमा २८ प्रतिशतले निर्यात बढेको छ । युनाइटेड किङडममा ३४ करोड ४९ लाख छ हजार रुपियाँको १४ हजार ५६२ किलो, सिङ्गापुरमा १२ करोड ५३ लाख दुई हजार रुपियाँको पाँच हजार ६२० किलो, हङकङमा १२ करोड ५२ लाख चार हजार रुपियाँको ५१ हजार ४४७ किलो निर्यात भएको छ । कोरियामा ११ करोड ४७ लाख चार हजार रुपियाँको छ हजार १८८ किलो निर्यात भएको विभागको तथ्याङ्क छ । अन्तर्राष्ट्रिय बजारमा कुकुर र बिरालोको खानाको माग बढ्दै गए पनि बर्सेनि निर्यातमा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
अदुवा निर्यात दोब्बर बढ्यो
गत आर्थिक वर्षमा मुलकमा उत्पादित अदुवाको निर्यात ९० प्रतिशतले बढेको छ । अदुवाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गएको एक वर्षमा २२ करोड २२ लाख ३३ हजार रुपियाँको अदुवा निर्यात भएको छ ।
अघिल्लो वर्ष ६४ करोड १४ लाख ५६ हजार रुपियाँको अदुवा निर्यात भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा धेरै भारतमा एक अर्ब ७२ करोड ३६ लाख तीन हजार रुपियाँ रुपियाँको अनुदान निर्यात भएको छ । यस्तै गत आवमा जर्मनीमा १३ करोड ३८ लाख २७ हजार रुपियाँको अदुवा निर्यात भएको छ । बङ्गलादेशमा १९ लाख रुपियाँको अदुवा निर्यात भएको तथ्याङ्क छ ।