• २० असोज २०८१, आइतबार

पार्वती मेडिकोले बुझायो दुई लाख जरिवाना

blog

इलामको फिक्कलमा रहेको पार्वती मेडिको । फाइल तस्बिर

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), साउन २१ गते । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख रुपियाँ जरिवाना बुझाएको छ । 

इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाको नेतृत्वको टोलीले अनुगमन गर्दा प्रतिबन्धित बेटाडिन बिक्री वितरण गरिएको पाइएपछि तीन दिनअघि दुई लाख रुपियाँ जरिवाना तोकेको थियो । मेडिकोका अशोक यादवले आइतबार जिल्ला प्रशासन कार्यालय इलाममा तोकिएको जरिवाना बुझाएको सहायक प्रजिअ कोइरालाले जानकारी दिनुभयो । 

सञ्चालकले आफ्नो नाममा दर्ता कायम रहेका कागजपत्र समेत पेस गर्ने प्रतिबद्धता जनाएपछि मेडिको खोल्न दिइएको छ । यसअघि आफ्नो नाममा दर्ता  कायम रहेको कागजपत्र नभएकाले मेडिको बन्द गर्न निर्देशन दिइएको थियो । 

अनुगमनका क्रममा उक्त मेडिकोमा फर हस्पिटल सप्लाई वनली लेखिएको बेटाडिन ५ बोतल बिक्रीका लागि राखिएको पाइएपछि जरिवाना तोकिएको थियो । उक्त बेटाडिन सरकारी अस्पतालले मात्र प्रयोग गर्न पाउँछन् । 

सहायक प्रजिअका अनुसार उक्त मेडिकोलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) र उक्त ऐनको दफा ३९ (१) (क) अनुसार जरिवाना गरी सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो । 

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा सञ्चालित मेडिकलको अनुगमन गर्दैआएको छ । इलाम बजारका केही मेडिकललाई यसअघि जरिवाना गरेको थियो ।