प्रकाशविक्रम शाह
धनगढी, साउन २१ गते । सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान प्रदेश सभा सदस्यबिच अनुभव आदान–प्रदान कार्यक्रम गरिएको छ । आइतबार धनगढीमा सुदूरपश्चिम प्रदेश सभाका महिला तथा सीमान्तकृत समूहका सदस्यहरूको क्षमता सुदृढीकरण सहयोग कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको हो ।
फाया नेपालको आयोजना र युएनडिपीको सहयोगमा आयोजित कार्यक्रम तीन महिनासम्म निरन्तर चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व सभामुख, वर्तमान उपसभामुखलगायत पूर्व मन्त्री, वर्तमान मन्त्री र पूर्व प्रदेश सभा सदस्य तथा हालका प्रदेश सभा सदस्यहरूको सहभागिता छ ।
पूर्व सभामुख अर्जुनबहादुर थापाले आफ्नो कार्यकालमा प्रदेश सभाले नवीन कुराको सिर्जना गरिएको बताउनुभयो । थापाले सुरुको प्रदेश सभाले नयाँ कुराको सिर्जना गर्ने भएकाले अनुभव सिकाइपूर्ण रहेको दाबी गर्नुभयो ।
यस्तै, थापाले आफू पहिलो प्रदेश सभाको सभामुख भएकाले केही अनुभव नभएको र प्रदेश सभाले नयाँ कुरा सुरुवात गरेको बताउनुभयो । अहिले प्रदेश सभाको काम कर्तव्य र अधिकार नबुझ्दा यसको खारेजीको कुरा उठिरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
आफ्नो कार्यकालमा कांग्रेसलाई खुसी बनाउँदा प्रदेश सभा सञ्चालन गर्न सहज भएको र प्रदेश सभालाई सफल बनाउन सकेको पूर्व सभामुख थापाको भनाइ छ । प्रदेश सभालाई सफल तुल्याउन काङ्ग्रेसको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो
यस्तै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आफूले प्रदेश सभा सदस्य भएर काम गर्दा नयाँ अनुभव प्राप्त गरेको बताउनुभयो । उहाँले विशेष गरेर प्रदेश राजधानीका सवालमा धेरै पैरवी गरेको बताउनुभयो । त्यस्तै, निवर्तमान प्रदेश सभा सदस्य रतन थापाले प्रदेश सभा र प्रदेश सभा सदस्यहरू पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सभा सदस्यहरू ललिता सुनार, खुसीराम थारु, इन्दिरा गिरी, सन्तोष थापालगायतले प्रदेश सभा सञ्चालन सम्बन्धमा विभिन्न जिज्ञासा गर्नु भएको थियो ।