• १३ मंसिर २०८१, बिहिबार

पहिरोको उच्च जोखिममा पीपलगाउँ

blog

खप्तड छेडेदह-२ को पीपलगाउँमा गएको पहिरो । तस्बिर : बिराज थापा/पीपल गाउँ ।

शेरबहादुर सार्की

बाजुरा, साउन २१ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ मा रहेको पीपलगाउँ पहिरोको उच्च जोखिममा परेको छ । गत साउन १९ देखि २२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले पीपलगाउँ जोखिममा परेको हो ।

बस्तीको माथिबाट पहिरो आएपछि झण्डै ४० घरपरिवार पहिरोको उच्च जोखिम रहेको छेडेदह गाउँपालिका-२ पीपलगाउँका स्थानीय बिरे कुँवरले बताउनुभयो । उहाँले पहिरोले पुरै बस्ती नै जोखिम परेको बताउनुभयो ।

खेती, घर सबै पहिरोले बगाएपछि पीपलगाउँकाे बस्ती नै उठीबास भएको छ । बर्खाको समय कतै जान जस्तो पनि छैन । यो बस्तीका स्थानीयलाई ज्यान जोगाउन नै सकस भएको कुँवरले बताउनुभयो । पहिरोले जोखिममा रहेको पीपलगाउँका लागि अहिले तत्काल त्रिपालको व्यवस्था गर्दै सुरक्षित ठाउँमा राख्ने तयारी भएको खप्तड छेडेदह गाउँपालिका-२ का वडा अध्यक्ष भक्त बुढाले बताउनुभयो ।

उसो त यो समस्या पीपलगाउँवासीको मात्र नभई जिल्लाका अन्य गाउँ बस्तीको पनि उस्तै छ । बर्खा लागेसँगै हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल त्रिवेणी, बुढीगङ्गा र छेडेदहका भिरालो तथा पाखो जमिनमा रहेका बस्तीमा पानी परेकोबेला माथिबाट पहिरो जान थालेपछि ती बस्ती बाढीपहिरोको जोखिम रहँदै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बाढीपहिरोको कारण यो वर्ष बाजुरामा गत वैशाखदेखि साउनसम्ममा ४ जनाको मृत्यु, ३ जना घाइते र १ जना बेपता भएका छन् । त्यसैगरी, २७ वटा चौपाया समेत मरेका छन् भने ५३ घर पुर्णरुपमा भत्किँदा झण्डै ५० लाख भन्दाबढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताउनुभयो ।