बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन २१ गते । सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकामा आइतबार बसेको सरोकारवालासँगको छलफलपछि साउन २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निणय गरिएको नगरपालिकाले जनाएको छ ।
मेयर उपेन्द्रकुमार पोख्रेलले विद्यार्थी र शिक्षकहरु समेत आँखा पाक्ने रोगबाट ग्रसित भएकाले नफैलियोस् भनेर पाँच दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय छन् ।
विद्यालयमा मात्रै नभई गाँउघरमा समेत आँखा पाक्ने रोगका बिरामी बढ्दै गएकाे स्थानीयले बताएका छन् । आँखाका बिरामी बढेसँगै सिन्धुली अस्पताल र सदरमुकामका मेडिकलहरुमा आँखा पाक्ने रोग नियन्त्रणका लागि औषधि किन्न आउनेको भीड बढेको छ ।
नगरपालिकाले सामाजिक दूरी कायम गर्न, सरसफाइ, आँखामा चस्मा र भीडभाडमा नजान अनुरोध गरेको छ । रोग लाग्न नदिन आँखा सफा राख्ने, बिहान–बेलुकी सफा पानीले आँखा पखाल्ने तथा बरफले सेक्ने र आँखा जाँच गराएर मात्रै औषधि प्रयोग गर्न बिरामीलाई सुझाव दिएको सिन्धुली अस्पतालका चिकित्सक प्रेरित देवकोटाले जानकारी दिनुभयो ।