काठमाडौँ, साउन २१ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ ।
माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “पदाधिकारी बैठक अहिले जारी छ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजेबाट कमलादीमा बस्नेछ । हिजोसम्म बैठकमा साथीहरूले उठाउनुभएको विषय अध्यक्षले प्रस्ट पार्नुहुन्छ ।”
साउन १७ गतेदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक नयाँ निर्णयसहित आजबाट समापन हुने भनिएको छ । उहाँले भन्नुभयो, “सङ्गठनात्मक कार्य विभाजन, राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदनबारे अध्यक्षले नयाँ निर्णय सुनाउनुहुन्छ । अहिले पदाधिकारीहरूसँग साथीहरूले बोल्नुभएको सार लिनुभएको हो ।”