• ११ मंसिर २०८१, मङ्गलबार

पच्चिस प्रतिशतले बढ्यो पास्ता र चाउचाउ निर्यात

blog

काठमाडौँ, साउन २१ गते । गत आर्थिक वर्ष २०७९/८० मा पास्ता र चाउचाउ निर्यात २५ प्रतिशतले बढेको छ । 

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चाउचाउ र पास्ताको माग बढ्दै गएपछि निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा नेपालबाट दुई अर्ब २९ करोड ६० लाख ९३ हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको छ । 

आव २०७८/७९ मा एक अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको थियो । स्वदेशी चाउचाउ र पास्ताको गत वर्ष सबैभन्दा धेरै निर्यात भारतमा भएको छ । गत आवमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतमा एक अर्ब ५५ करोड २४ लाख पाँच हजार रुपियाँको निर्यात भएको छ । 

चीनमा ५१ करोड ४२ लाख २७ हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ । यस्तै गत आवमा अस्टे«लियामा २३ करोड ७७ लाख २५ हजार, अमेरिकामा २१ करोड ६५ लाख ६२ हजार, जापानमा ८९ करोड नौ लाख, मलेसियामा ३० करोड ७६ लाख एक हजार, इटालीमा २९ करोड ६५ लाख चार हजार रुपियाँको चाउचाउ र पास्ता निर्यात भएको छ । 

पास्ता र चाउचाउको निर्यात बढ्दै गएपछि व्यापार घाटा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वदेशी पास्ता तथा चाउचाउ भारतमा निर्यात हुँदै आएको छ । तेस्रो मुलुकमा पनि नेपाली चाउचाउ तथा पास्ताको माग उच्च रहेको छ ।